कोभिशिल्ड खोप लगाएका १५ लाखलाई दोस्रो डोजको चिन्ता, लगाउन नपाए के हुन्छ ?

रातोपाटी

काठमाडौँ

गएको फागुन २३ गते पछाडि दोस्रो प्राथमिकतामा परेर खोप लगाएका करिब १५ लाख नागरिकलाई दोस्रो डोज खोपको चिन्ता बढेको छ । पहिलो खोप लगाएको ८ देखि १२ हप्ताभित्र दोस्रो डोज खोप लगाउनुपर्ने भएपनि खोपको व्यवस्था नहुँदा करिब १५ लाख जनसङ्ख्यालाई दोस्रो डोजको चिन्ता बढेको हो । 

यसअघि भारतबाट १० लाख डोज अनुदान,१० लाख डोज खरिद र कोभ्याक्स सुविधा अन्तरगतको ३ लाख ४८ हजार डोज गरी कूल २३ लाख ४८ हजार डोज खोप नेपाल आएको थियो ।

जसमध्ये पहिलो प्राथमिकतामा परेका करिब ४ लाखले दोस्रो डोज खोपसमेत लगाइसकेका छन् । बाँकी पहिलो चरणको दोस्रो प्राथमिकताका परेका करिब १५ लाख जनसङ्ख्यालाई वैशाख २३ गतेदेखि जेठ २३ गतेभित्रै दोस्रो डोज खोप दिनुपर्ने हुन्छ । कतिपयले चैतको ३ गतेसम्म पनि खोप लगाएको हुनाले ढिलामा पनि असारको ३ गतेभित्रै १५ लाख जनसङ्ख्याले दोस्रो डोज खोप लगाइ सक्नुपर्नेछ ।

यी सबै खोप भारतमा उत्पादित कोभिशिल्ड खोप भएको कारण पहिलो चरणको दोस्रो प्राथमिकतामा परेका करिब १५ लाख नागरिकले दोस्रो डोज पनि सोही खोप लगाउनुपर्ने हुन्छ । तर सरकारसँग न दोस्रो डोजका लागि खोपको मौज्दात छ,न त दोस्रो डोजका लागि समयमै दिने प्रतिवद्धता उत्पादक देश र कम्पनीले गरेको छ । जसका कारण पहिलो चरणको खोप अभियानको दोस्रो प्राथिमकतामा परेका करिब १५ लाख जनसङ्ख्यालाई दोस्रो डोजका लागि अन्योल बढेको छ ।

कोरोनाविरुद्धको खोप पहिलोपटक लगाएको ८ देखि १२ साताभित्र अर्को खोप लगाउनुपर्ने हुन्छ । सो समयावधिमा लगाएको खोपको प्रभावकारिता बढी हुने अनुसन्धानले देखाएको छ । त्यसकारण पहिलो चरणको दोस्रो प्राथमिकतामा परेर खोप लगाएकाहरुले वैशाखमा २३ गतेदेखि ढिलोमा असारको ३ गतेभित्रै खोपको दोस्रो डोज लगाइसक्नुपर्छ ।

प्रकाशित मिति: : 2021-05-08 11:12:00

प्रतिकृया दिनुहोस्