छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ७ जनाको मृत्यु

चितवन, बारा, झापा, मकवानपुर, दाङ, धादिङ र धनुषाका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा परी ७ जनाको मृत्यु भएको छ।

चितवनको भरतपुर महानगरपालिकाऔ२२ पटिहानीमा ना.५ ख ५६६६ नम्बरको ट्रकले ना.४५ प २३२६ नम्बरको स्कुटरलाई शुक्रबार दिउँसो ठक्कर दिंदा स्कुटर चालक सोही ठाउँ बस्ने २९ वर्षीय प्रबिण भण्डारीको मृत्यु भएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको नयाँ मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो। ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

त्यसैगरी बाराको जितपुरसिमरा उपमहानगरपालिका-१ पथलैया वीरगंज सडकमा हाल नम्बर नखुलेको सवारी साधनको ठक्करबाट ललितपुर टिकाभैरब बस्ने ५० वर्षीय बीरबहादुर योन्जनको शुक्रबार राति घटनास्थलमै मृत्यु भएको छ। ठक्कर दिने सवारी साधनको प्रहरीले खोजी गरिरहेको छ।

यस्तै झापाको बुद्धशान्ति गाउँपलिका-१ शान्ति चोकमा  हाल नम्बर नखुलेको मोटरसाइकलको ठक्करबाट पैदलयात्री बुद्धशान्ति गाउँपालिका-१ पुलचोक बस्ने ४७ वर्षीय दिपक नेपालको शुक्रबार राति मृत्यु भएको छ।

ठक्करबाट गम्भीर घाइते भएका उनको बिएण्डसी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो। ठक्कर दिने मोटरसाइकलको प्रहरीले खोजी गरिरहेको छ।

मकवानपुरको राक्सिराङ गाउँपालिका-१ बेलटारमा बा.१५ च ३९२० नम्बरको बलेरो जिप आफै अनियन्त्रित भई सडकबाट अन्दाजी १ सय ५० मिटर तल खसेर गएराति दुर्घटना हुँदा जिपमा सवार राक्सिराङ गाउँपालिका-१ गल्छरा बस्ने १८ वर्षीय दिनेश स्याङतानको घटनास्थलमै मृत्यु भएको छ। दुर्घटनामा घाइते भएका जिपका चालक समेत ५ जनालाई उपचारको लागि चुरेहिल अस्पताल हेटौंडातर्फ पठाइएको छ।

यसैगरी दाङको गढवा गाउँपलिका(७ बालापुरमा रा।५ प २०९८ नम्बरको मोटरसाइकललाई रा।१ त २५५० नम्बरको ट्याक्टरले शुक्रबार राति ठक्कर दिंदा मोटरसाइकलमा सवार गढवा गाउँपालिका-७ गोराह बस्ने ६० वर्षीय तिखाराम चौधरीको मृत्यु भएको छ।

दुर्घटनमा गम्भीर घाइते भएका उनको लमही अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक सोही गाउँपालिका मानपुर बस्ने ४५ वर्षीय चुडामणि पौडेलको राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीमा उपचार भइरहेको छ। ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

धादिङको धुनिबेशी नगरपालिका-८ सुबेदी थोकस्थित जय मछिन्द्रनाथ इँटा उद्योगको बा।२ ख ७७७० नम्बरको मिनीट्रकले किच्दा सोही इँटा उद्योगमा काम गर्ने सर्लाही बागमती नगरपालिका-३ घर भएका कृष्ण स्याङताङको छोरा २ वर्षीय रिहान स्याङताङको शनिबार बिहान घटनास्थलमै मृत्यु भएको छ। हाल फरार ट्रक चालकको प्रहरीले खोजी गरिरहेको छ।

त्यसैगरी धनुषाको मिथिला नगरपालिका-१० लालगढमा बा.११ च ४०५० नम्बरको कारको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ४५ वर्षीय नवराज अधिकारीको शुक्रबार राति मृत्यु भएको छ।

ठक्करबाट गम्भीर घाइते भएका उनको मोडेल अस्पताल लालगढमा उपचारको क्रममा मृत्यु भएको हो। कार चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
 

प्रकाशित मिति: : 2021-05-08 20:06:00

प्रतिकृया दिनुहोस्