नेपाल प्रेस युनियन काठमाडौँ शाखाले कोरोना सङ्क्रमणको समयमा कार्यक्षेत्रमा खटिने सञ्चारकर्मीलाई स्वास्थ्य सामाग्री सहयोग गरेको छ।
नयाँ भेरियन्टसहित दोस्रो चरणको कोरोना सङ्क्रमण देखिएसँगै युनियन काठमाडौँ शाखाले उपत्यकाका विभिन्न सञ्चारगृहमा पुगेर कार्यक्षेत्रमा खटिएका पत्रकारलाई मास्क, स्यानिटाइजरलगायतका स्वास्थ्य सामाग्री सहयोग गरेको हो।
युनियनले बुधबार प्राइम टाइम्स टेलिभिजन, हिमालय टेलिभिजन तथा एपिवान टेलिभिजनमा कार्यरत पत्रकारलाई स्वास्थ्य सामाग्री वितरण गरेको शाखाका अध्यक्ष जगन्नाथ दुलालले जानकारी दिए।
काठमाडौँ शाखाले आगामी दिनमा एभिन्यूज, ग्लोबल, इमेजलगायतका सञ्चारगृहमा स्वास्थ्य सामाग्री वितरण गर्ने जनाएको छ। अध्यक्ष दुलालका अनुसार ५०० प्रति मास्क र १० बोतल स्यानिटाइजर वितरण गरिनेछ।
गत वर्ष कोरोना सङ्क्रमणको बेलामा प्रेस युनियन काठमाडौँ शाखाले काठमाडौँमा क्रियाशील ४०० भन्दा बढी पत्रकारलाई प्रेस लेखिएको पहेँलो ज्याकेट वितरण गरेको थियो। रासस