नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारको लापरवाहीका कारण कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या बढिरहेको बताएका छन्।
इस्लाम धर्मावलम्वीहरुको पवित्र पर्व ‘ईद उल फित्र’ का अवसरमा शुभकामना व्यक्त गर्दै सभापति देउवाले भनेका छन्, 'देश अहिले कोभिड-१९ महामारीको दोस्रो चरणमा छ। सरकारको चरम लापरवाही, असंवेदनशीलता र अर्कमन्यताका कारण बढ्दो संक्रमणसँगै आइसियु बेड, भेन्टिलेटर र अक्सिजनको अभावमा मृत्यु हुनेको संख्या पनि दिनानुदिन बढ्दो छ।'
उनले यस्तो परिस्थितिमा नागरिक आफैं पनि सचेत हुन जरुरी रहेको बताएका छन्।
देउवाले भनेका छन्, ‘यस अवस्थामा कोरोनाको जोखिमलाई दृष्टिगत गर्दै नियमित रुपमा नमाज गरी राख्दा स्वास्थ्य सुरक्षाका मापदण्डलाई ख्याल गरी भौतिक दुरी कायम राख्दै पारस्परिक एकता, विश्वास र प्रेमका साथ ‘इद उल फित्र’ मनाउनु हुन म सबैलाई आग्रह गर्दछु।’
इद उल फित्रको पवित्र पर्वले नेपाली समाजमा धार्मिक सहिष्णुता र सद्भावना बढाउँदै आएको बताउँदै देउवाले यो पर्वले मुलुकमा शान्ति, सद्भाव र समृद्धि ल्याउन सबैलाई प्रेरणा दिने विश्वास लिएको बताएका छन्।
'लोकतन्त्रको स्थापना र पुर्नस्थापनाका लागि विगतमा भएका हरेक लोकतान्त्रिक आन्दोलनहरुमा इस्लाम धर्मावलम्वी दिदीवहिनी तथा दाजुभाईहरुको महत्वपूर्ण योगदान रहदै आएको छ। लोकतन्त्रको रक्षार्थ मुस्लीम दिदीवहिनी तथा दाजुभाइहरु अझ वढि जिम्मेवार रहनु हुनेछ भन्ने मैले विश्वास लिएको छु।' उनले भनेका छन्।
देउवाले ‘इद उल फित्र’ ले सम्पूर्ण जातजाति तथा धर्मावलम्वीहरुमा एकताको सन्देश दिन सफल हुनेछ भन्ने विश्वासका साथ इस्लाम धर्मावलम्वीहरुमा शुभकामना व्यक्त गरेका छन्।