क्यारिकेचरका 'मास्टरपिस' मनोज 

जीवनमा भोगाइमा हरेक व्यक्तिलाई लाग्छ– आफूले पार गरेर आएको दुःखको सागर  नै सबैभन्दा ठूलो दुःखको महासागर हो। कसैलाई सामान्य दुःख पनि पहाड लाग्न सक्छ तर कसै–कसैले कल्पना गर्न नसकिने दुःखका सागर पनि हाँसी–हाँसी तरिदिन्छन्। 

जब कलाकारिता र साहित्यको कुरा आउँछ, त्यसमा स्वतः नवरसको कुरा आउँछ। प्रत्येक मानिसको जीवन श्रृङ्गार, करुण, वीर, हास्य, भयानक, रौद्र, विभत्स, अद्भूत र शान्त गरी जम्मा नौ वटा रसभित्रै समेटिएको हुन्छ। यी सबै रसहरू प्रकृतिको गतिविधिसँग समानान्तर हुन्छन्। 

प्रकृतिका पनि ठ्याक्कै यस्तै रुप हुन्छन्। मानिसले आफूभित्र भएका यी नौ रसमध्ये कुन रस समाज र समुदायलाई बाँड्न चाहन्छ। त्यसले स्वयम् उसको जीवन, समाज र सिंगो देशलाई नै प्रभावित पार्छ। 

यस्तै, आफूभित्र भएका नौ रसमध्ये हाँस्य रस, समाज र सिंगो देशलाई बाँढेर अन्तर्राष्ट्रिय स्तरमा समेत ख्याति कमाएका हाँस्य कलाकार हुन्–  मनोज गजुरेल। 

मनोज गजुरेलको जन्म वि.सं. २०३० साल बैसाक २९ गते शुक्रबार भएको हो। उनी कञ्चनजङ्घाको काखमा अवस्थित ताप्लेजुङ जिल्लाको मामाङ्खे गा.वि.स. वडा नं. ४, अँगेरीपाखा, भण्डारीबारीमा जन्मिएका हुन्। उक्त ठाउँ अहिले राज्य पुनः संरचना भएपश्चात भने सिरिजङ्घा गाउँपालिका वडा नं. ६ मा पर्छ। 

उनको न्वारानको नाम मायानाथ गजुरेल हो। उनका बुबाको नाम भवानीप्रसाद गजुरेल र आमाको नाम इन्द्रमाया गजुरेल हो। मनोज गजुरेलको बच्चा बेलाको कथा अरु बालबालिकाहरूको भन्दा विल्कुल फरक र कारुणिक छ। उनले आफ्ना बुबाको अनुहार देख्न पाएनन्। उनी छ महिनाको हुँदा नै उनका बुबाले यो संसारबाट बिदा लिए। 

उनले जम्मा ११ वटा शैक्षिक संस्था परिवर्तन गरेर आफ्नो औपचारिक अध्ययनलाई विराम लगाए थिए। यसो हुनुमा निम्न वर्गीय परिवारको आर्थिक र विभिन्न संघर्षका पाटाहरू छन्। 

मनोजको बाध्यता थियो– कहिले मामासँग बसेर पढ्नुपर्ने, कहिले फुपूसँग बसेर पढ्नुपर्ने, कहिले काकासँग त कहिले दाजुहरूसँग बसेर पढ्नुपर्ने। यी यावत समस्याहरूका कारण पनि उनले यति धेरै विद्यालयहरू परिवर्तन गर्नुपरेको थियो। उनले एस.एल.सी. दोस्रो श्रेणीमा पास गरेका हुन्।

विद्यार्थी राजनीति हुँदै कलाकारितामा प्रवेश गरेका मनोज गजुरेल नेपालमा 'क्यारिकेचर' को दुनियामा 'मास्टर पिस' हुन्। नेपालमा आवाजको नक्कल गरेर हँसाउने कलाकारहरू त धेरै छन् तर मनोज गजुरेल यस्ता दूर्लभ प्रतिभा हुन्, उनी जसको नक्कल गर्छन् उसको आवाजको मात्रै नक्कल गर्दैनन्, जिउडाल, हाउभाउ, रुपरङ, कपाल र दारीजुँगा आदिसम्मको नक्कल गरेर हुबहु सोही पात्रमा रुपान्तरण हुन सक्छन्। 

उनले दर्जनभन्दा धेरै कलाकार र राजनीतिज्ञहरूको नक्कल गरिसकेका छन्। त्यसमा पनि उनले गरेको अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको नक्कल त विश्व चर्चित नै भयो। ट्रम्पको क्यारिकेचर गर्ने विश्वका उत्कृष्ट १८ जनाको नाम सार्वजनिक हुँदा मनोज गजुरेलको नाम पनि समावेश हुनु समस्त नेपाली हाँस्यकला जगतकै लागि गौरभ गर्न लायक विषय हो।

क्यारिकेचरका माष्टरपिस, हाँस्य कलाकारिताको दुनियाँमा एक आइडल मनोज गजुरेलको बैबाहिक जीवन भने सुखद् हुन सकेन। वि.सं. २०५२ सालमा विराटनगरकी मीना ढकालसँग काठमाडौंमा प्रेम विवाह गरेका मनोज गजुरेलको वैवाहिक सम्बन्ध असफल सावित भएको हो। 

मनोज र मीनाका दुइ सन्तान् छन्। मनोज र मीनाले २२ वर्षलामो वैवाहिक जीवनलाई २०७४ पुस ११ गते अदालती प्रकृया पूरा गरेर सम्बन्ध विच्छेद गरेकी हुन्। 

औपचारिक रुपमा सम्बन्ध विच्छेद गरेर स्वतन्त्र जीवन बाँच्न थालेका भएपनि मिना ढकाल भने सामाजिक सञ्जालमा मनोज गजुरेललाई मनलाग्दी गाली गरिरहेकी हुन्छिन् तर मनोज भने उक्त विषयमा र मीना ढकालको बारेमा केही पनि बोल्दैनन्। 

मनोज गजुरेलका बाबु नभए पनि आमाले कहिल्यै टुहुरोको अनुभूति हुन दिइनन्। कोही दम्पतीहरू चाहेर पनि सँगै जीवन जिउन पाउँदैनन् एउटा दुर्भाग्य ! कोही दम्पतीहरू दाम्पत्य सुख भोग गर्ने पर्याप्त अवसर हुँदाहुँदै पनि सँगै जिउन चाहँदैनन् अर्को दुर्भाग्य। संसार विचित्रको छ।

प्रकाशित मिति: : 2021-05-16 15:10:00

प्रतिकृया दिनुहोस्