सुन सिरानी हालेर नूनको खोजीमा भौँतारिएको कर्णाली 

भौगोलिक बनावटको हिसाबमा अति विकट भए पनि प्राकृतिक सुन्दरता र अमूल्य जडिबुटी, दुर्लभ वन्यजन्तुले गर्दा कर्णाली प्रदेश  नेपालकै धनी मानिन्छ।

नेपालकै सबभन्दा ठूलो रारा ताल, गहिरो ताल फोक्सण्डो  र विश्वप्रसिद्ध बुलबुले ताल यही प्रदेशमा पर्दछन्। नेपालकै सबभन्दा लामो नदी कर्णाली र ठूलो झरना पंचाल झरना पनि कर्णालीमै पर्दछन्। यहाँ नेपालकै दुर्लभ मानिने कस्तुरी मृग, रातोपाण्डा डाँफे आदि पशुपंक्षी पाइनुको साथै (जीवन बुटी) यार्सागुम्बा, पाँचऔँले (हातेजडी), शिलाजीत जस्ता थुप्रै औषधि जन्य जडीबुटी प्रशस्तै पाइन्छन्। 

कर्णाली प्रदेश भोगोलिक हिसाबले नेपालको सबैभन्दा ठूलो प्रदेश हो। राष्ट्र भाषाको उद्गम स्थल सिंजा उपत्यका पनि यही प्रदेशमा पर्दछ। विश्वकै अग्लो स्थानमा फल्ने जुम्ली मार्सिधान कर्णाली प्रदेशको जुम्ला जिल्लाको छुमचौर जिउलामा फल्दछ।त्यस्तै जुम्लामा फल्ने ओखर स्याउ र स्याउबाट बनेका विभिन्न ब्रान्डहरु विश्वबजारमा प्रख्यात छन्।

नेपालको भौगोलिक, राजनीतिक, आर्थिक, सामाजिक रुपले पछाडि पारिएको तर प्राकृतिक सांस्कृतिक ऐतिहासिक दृष्टिकोणले अति नै धनी कर्णालीको आफ्नै पीडा र बेदनाहरु छन्। कर्णालीमा स्रोत छ ,साधन र पहिचान छैन। 

स्वर्गकी अप्सरा रारा छ। त्यस्तै फोक्सुण्डो ताल छ। त्यसको विकास भएको छैन। सुनको सिरानी हालेर नुनको खोजीमा भौतारिदै छ कर्णाली, आज।विकासको अधिकतम संभावना र चुनौती बोकेको मूर्त कर्णाली बेदनाको भूमरीमा फसेर अबोध पीडाका साथ छट्पटाइरहेको छ।

कर्णालीले आफ्नो विकास खोजिरहेको छ। कर्णाली पछि पर्नुका मुख्य कारणहरु यी हुन्ः

१. अर्थ
- उद्योगधन्दा कलकारखाना नहुँदा रोजगारीको अवसर अत्यन्त कम हुनु।
- कर्णालीलाई विशेष आर्थिक क्षेत्र घोषणा नहुनु।
- आम्दानीको नियमित स्रोत पहिचान नहुनु।
- केही सम्पन्न हरूको पुँजी कर्णाली भन्दा बाहिर जग्गा खरिद र घर निर्माणमा खर्च पूँजी बाहिरिनु।
- सहकारी संस्था साझेदारी व्यवसाय र ढुकुटी प्रणाली लागू नहुनु।

२. शिक्षा
- आवश्यकता अनुसार विद्यालयको अभाव हुनु।
- पाठ्यपुस्तकको अभाव हुनु।
- पढाउनुपर्छ भन्ने मानसिकता कमी हुनु।
- शिक्षालाई केवल जागिर खाने हतियार बाहेक अर्को नठान्न।
- प्राविधिक शिक्षालय नहुनु।
- परेकाहरूमा पनि उच्च शिक्षा हासिल गर्नुपर्छ भन्ने मानसिकताको कमी।

३. स्वास्थ्य
- सरसफाइसम्बन्धी जनचेतनाको कमी।
- प्राकृतिक र आयुर्वेदिक उपचार पद्धतिमा त्यति  जोड नदिनु।
- अस्पताल दक्षजनशक्ति औंषधि र उपकरणको अभाव हुनु।

४. यातायात
- यातायातको विकल्प हवाईसेवा बाहेक अर्को नहुनु र हवाइसेवा महंगो भए पनि नियमित नहुनु र सजिलै टिकट नपाउनु।
- हवाई सेवामा व्यापक भ्रष्टाचार हुनु, सरोकारवालाहरु मौन रहनु।
- सडक निर्माण तथा सुधार नहुनु कर्णालीका ट्रक, ट्याक्टर, बस, ट्याक्सी भनेका खच्चड, झाेपा,घोडा  चौंरी, गधा र भेडाबाख्रा हुनु र ती पनि लोप हुँदै जानु।

५. सञ्चार
- दक्ष जनशक्तिको अभाव एवम् सूचना केन्द्रको सुरुवात नहुनु।
- कर्णालीमा सञ्चारको माध्यम अत्यन्त कम हुनु र भएका केही सञ्चारका माध्यम पनि विविध कारणले गर्दा सेवामा गुणस्तर नहुनु।
- निष्पक्ष र ब्यवसायिक मिडिया नहुनु।
- पत्रकार को सुरक्षा नहुनु , सामुदायिक एफ्.एम् मा सुधार र पत्रपत्रिकाको प्रकाशनमा कमी हुनु।

६. पर्यटन विकास
- पर्यटन व्यवसाय विकासको लागि पूर्वाधारको तय नहुनु।
- पर्यटन व्यवसायसम्बन्धी 'स्कुलिङ' तथा पर्यटकीय सम्भाव्य स्थलहरूको पहिचान नहुनु।
- होटेल व्यवसायी 'ट्रेकिङ' व्यवसाय र 'ट्रेकिङ रूट' सम्बन्धी जानकारीमूलक कार्यक्रम नहुनु।

७. भौगोलिक विकटता तथा प्राकृतिक प्रकोप
- वर्षेनी हुने हिउँ असिना बाढीपहिरो र खडेरी कर्णालीका लागि विकासका बाधक पक्षहरु हुन्।

८. प्राकृतिक स्रोत साधनको उपभोग र संरक्षण
- कर्णालीका मठ–मन्दिर, गुम्बा , ताल,नदि, कुण्ड, तातापानी, झरना, खोला चौर, खानीहरूको अनुसन्धान र संरक्षण नहुनु।
- जैविक विविधताको खोज तथा अनुसन्धानमा कमी हुनु।
- जडिबुटी संरक्षण,संकलन, प्रशोधन र व्यापारीकरणको अभाव हुनु।

९. नीति
- कर्णाली नबुझेकाहरुबाट नीति निर्माण हुनु र परम्परागत संरचनामा सुधार नहुनु।
- नीति निर्माणमा कर्णालीवासीको पहुँच नहुनु र स्थानीय आवश्यकताको धरातलमा नीति नबन्नु।
- प्राकृतिक विविधतालाई ख्याल नगरी भौगोलिक विकटतालाई समस्या ठानी नीति बन्नु र क्षेत्रगत विकासमा ख्याल नगर्नु।

१०. केन्द्रिकृत राज्यसत्ताको दृष्टिकोण
- भावनामा एकीकरण नगरी  भूगोलमा एकीकरण गरिएको कथित राज्य एकीकरण पश्चात पनि कर्णाली प्रति शासकहरूले अविश्वास र आशंका उब्जनी उही पुरातन विजित दृष्टिकोण राखेको कारण।
-केन्द्रीकृत हुकुमी सरकारको प्रशासनलाई नस्वीकार्ने बरु निरन्तर विद्रोहमा उत्रिरहेका कारण।
- कर्णालीका जनताले बलिदानी गरे तर बहादुर शाहको सेनाको अगाडि आत्मसमर्पण नगरेका कारण।

११. शासन प्रणाली
- सेवाको भावना भन्दा जागिरे मानसिकताले ग्रसित कर्मचारीतन्त्र।
- कर्मचारीहरुमा पारदर्शिता र उत्तरदायित्वको अभाव र  सक्षम कर्मचारीहरु कर्णालीमा जान आनाकानी गर्नु।
- अनुगमन,सुपरिवेक्षण र मूल्याङ्कनमा कमजोरी हुनु, गुणात्मक र परिणात्मक दुवै दृष्टिकोणले महिलाको सहभागितामा कमी हुनु।
- सूचना तथा संचारमा अध्यावधि नहुनु र  कर्मचारीहरुमा दलीय दम्भता बढ्न गई कामकाजमा हेलचेक्राई हुन्।

१२. कृषि तथा पशुपालन
- सिचाइ प्राविधिक जनशक्ति र उत्प्रेरणाको अभाव हुनु र कृषिमा विविधीकरण व्यवसायीकरण र बजारीकरणको समस्या हुनु।
- प्राङ्गारिक मल भन्दा रासायनिक मलको प्रयोगका कारण उत्पादनमा कमी हुनु।

१३. युवा तथा विद्यार्थीहरु
- सिर्जनशीलता र दक्षतामा आफ्नो उर्जा खपत नगरी नकारात्मक आवेगमा समय व्यतित गर्नु।
- सत्यता र युगीन आवश्यकताको आधारमा भन्दा बहकाउमा बढी भड्किनु।
- अन्धभक्त भएर राजनीतिक दलको गोटी  बन्नु र सानोतिनो काममा पनि तनावग्रस्त भएर दुरबेसनमा फस्नु।
- 'मनी, मेबाइल र मसल' को पछि लाग्नु।

१४. जातीय अस्तित्वको सवाल
- दलित महिला र जनजातिको क्षमतालाई नस्वीकार्नु।
- जातीय उच्च-निचमको संकीर्णतामा फस्नु।

१५. बुद्धिजीवी
- समाज रुपान्तरणको महान अभियानमा लागेर खोज तथा अनुसन्धान नगर्न।
- अवसर पाउँदा पढे–लेखेको नाताले छिटो शक्तिकेन्द्र शक्तिकेन्द्रवरिपरि झुम्मिनु।

१६. नागरिक समाज
- नागरिकसमाज दलीय समाजको रुपमा देखापर्ने दलीय एजेन्डाको वकालत गर्नु।
- जीवन्त र गतिशील नागरिकसमाज नहुनु र संघर्ष भन्दा अवसरमा बढी अघि सर्नु।
- निरन्तर खबरदारीको अभाव हुनु।

१७. मनोविज्ञान
- आफूभित्रको क्षमताको पहिचान नगरी अरूको पछि लागेर समय खेर फाल्नु।
- हामी त कर्णालीका हुौँ के गर्न सक्छौं भन्ने मानसिकताको प्रभाव पर्नु।
- जोखिम उनले सास पटक्कै नगर्नु र सानोतिनो समस्यासँग नजुधि अरूको भरमा पर्ने बानीको विकास हुनु।

१८. जलस्रोतको धनि भएता पनि विद्युत उत्पादन र खानेपानी  नहुनु।
१९. नेतृत्व शैली कमजोर हुनु।
२०. सशक्त सुरक्षा निकाय नहुनु।
२१. मर्यादित न्यायप्रणाली नहुनु।

कर्णाली समस्याको खाल्डो मात्र होइन सम्भावनाको सरोवर हो। वन्यजन्तुको आरक्षण केन्द्र हो। कृषि विविधीकरणको सम्भावित क्षेत्र हो। वनस्पतिको भण्डार हो। वन्यजन्तुको आरक्षण केन्द्र हो। 

साहसिक पर्यटनको उच्च सम्भावना भएको क्षेत्र हो। पूरातात्विक सम्पदाको संग्रहालय हो। जलस्रोतको मुहान हो। नेपाली लोकसंस्कृतिको साक्षत प्रतिनिधि हो। सामाजिक तथा सांस्कृतिक रुपले अनुपम फुलबारी हो।

खनिज सम्पदाको संभाव्य क्षेत्र हो। जलश्रोतको मुहान हो। नेपाली भाषाको आधारस्तम्भ पनि कर्णाली  हो। त्यसैले कर्णालीको प्रचारप्रसार गरेर कर्णालीको विकास र समृद्धितर्फ अघि बढ्नुपर्छ।

balgopaldevkota@gmail.com

प्रकाशित मिति: : 2021-05-17 09:13:00

प्रतिकृया दिनुहोस्