सरकार, मलाई अक्सिजन देऊ बदलामा हुम्लाबाट चौँरीगाईकाे घ्यू र जुम्लाबाट मार्सी चामल पठाइदिन्छु

Breaknlinks
Breaknlinks

यतिबेला म काेहलपुरमा छु।

काेहलपुरदेखि नेपालगन्ज सम्मका दृश्यहरु हेर्दा-हेर्दा मेरा आँखा थाकिसके। समाचार सुन्दा-सुन्दा कान पाकिसके। 

मलाई लाग्छ, नेपालगन्ज बाँच्न चाहन्छ। नेपालगन्ज रेल गुडाउन चाहन्छ। धरहरा चढ्न जाने नागरिकलाई रेलबाट काठमाडौं पुर्‍याउन चाहन्छ, तर अहिले नेपालगन्ज अक्सिजन नपाएर निस्सासिएकाे छ।

म स्वस्थ छु, तर पनि सास हुलिएजस्ताे लागिरहेकाे छ। मेराे सास यी दृश्यले मात्र हुलिएकाे छैन, मेराे देशकाे सरकार र नाइकेहरुका गतिविधि र अराजनीतिक खेलका कारण पनि बन्द हुने स्थितिमा छ। 

सरकार काेराेना राेकथाम र संक्रमण राेक्न औषधि मुलाे र सर-सामान खरिद र सावधानी अपनाउनुभन्दा छिटाे बाेडि ब्याग मगाउछ। अक्सिजन पलान्टमा काम गर्नेलाई खाना, पानी र भत्ता हाेइन, लास जलाउनेलाई भत्ताकाे बन्दाेबस्त गरिरहेकाे छ।

खासमा सरकारकाे नीति के हाे? मेराे मतलव लास जलाउने मजदुरलाई श्रम शाेषण गर्नुपर्छ, भन्नु हाेइन। उनीहरु पनि याे विषम परिस्थितिका हाम्रा मलाम पट्टी हुन। तर बाेडि ब्याग छिटाे, अन्य अत्यावश्यक औषधि र अक्सिजन प्लान्ट ढिलाे, यस्ताे पनि हुन्छ?

आज शासकसँग सत्ता बाहेक अरु केही कल्पना छ? जनताले रबि लामिछाने, ज्ञानेन्द्र शाही, भिम उपाध्याय जस्तै अभियन्ताहरुलाई मानिरहेका छन्। व्यक्ति आफ्नाे निजी सम्पत्ति र दिलाे ज्यान दिन लागिरहेका छन्, सरकारी ढुकुटीकाे दाेहन बाहेक अरू थाेक गर्न सकिरहेको छैन।

याे चुनाव हाेइन, महामारी हाे। अब नगरे कहिले गर्ने? धन्न लकडाउन छ, राेगकाे डर छ। नत्र अतिवादी शासन सत्ताकाे चिरफार गर्ने, अहंमताकाे भाेग मेटाउन जनता राेडमा आउन तल्लिन छन्। समय धेरै छैन। साेच-विचार गरेर जनता बचाउने, आफ्ना भाेट सुरक्षित गर्न भने सरकारले जनचाहना अनुरुप काम गराेस्। नत्र त्यसकाे असर छाेरा-नातीकाे पालासम्म पर्ला। 

सत्ताकाे खेल वरपर रहेका प्रचण्डलाई पनि प्रश्न छ, कहाँ छ तिम्रा जनयुद्धले जन्माएका डाक्टर? कहाँ छन् तिम्रा घरेलु औषधि र माेडेल एरियाका स्राेत साधनहरु? तिमीले चुच्चे नक्सा देखाउने र घमण्डकाे धरहरा चढ्ने बेला हाेइन, याे। आफूले-आफूलाई नचिन्ने, आफू भाले-पाेथी वा तेस्रो लिङ्गी के हुँ भनेर अलमलिने बेला पनि हाेइन। डाक्टर बचे पाे चिरफार गरेर लिङ्ग छुट्याउलान्। जनता बचे पाे तिम्रा भाेट सुरक्षित हाेलान्।

प्रमुख प्रतिपक्षकाे भूमिका कुलाे र पानी जतिकै ठुलाे र महत्त्वपूर्ण हुन्छ। सरकारी भाग खाने, साँढेलाई छाडा छाेड्दिने? जे गर-गर ! हरियाे खाए खा, जे खाए खा तर मेराे भाग लगा, नेपाली पैसादेखि विदेशी डलरसम्म। राजदूतदेखि सबै निकायमा समान भाग दे भन्न भ्याउने तर जनता बिरामी भएकाे बेडमा अक्सिजन पुर्याउने कुरामा ध्यान नदिने?

हामी भए अक्सिजन चाहिदैन। हामी भए बलत्कार हुँदैन। हामी भए सरकार चल्छ। हामी भए सत्ता टिक्छ। हामी भए पार्टी पनि चल्छ भन्ने साेचले महामारी नियन्त्रण बाहिर गएकाे छ।

नेपालगन्जमा नागरिककाे बिचल्ली छ। कसलाई भन्नु? कसलाई सुनाउनु?

म सँग भएकाे त्यही एक भाेट हाे। म त्यहि एक भाेटकाे धनी छु। अब हरेक नागरिकले १६ वर्ष पुग्नेबित्तिकै पार्टी छान्नेछ। १८ वर्ष पुगेकाे दिन अक्सिजनमा भाेट हाल्नेछ। म बाँचुज्जेल मेराे छाेरा-नानी, मेराे आफन्त, मेरा नाता-गाेता, साथी-भाई, ईष्टमित्र सबै-सबैलाई यही अक्सिजनमा भाेट हाल्न लगाउँनेछु। याे मेराे प्रतिज्ञा हाे। तिमीलाई पाे, त्याे पर्दैन।

त्याे बेला म कति भाेटकाे धनी हुन्छु, हिसाब गरेर राख। लास जलाउनेलाई एक हजार हाेइन, सास फेर्नलाई नाै सयकाे अक्सिजन ल्याइदेउ सकिन्छ भने। अलिकति चेत छ भने।

आज देशलाई माया गर्नेहरु चिहानमा जलिरहेका छन्। नागरिकले सास दिएर भएन। प्राण त्यागेर भएन। बिरामीले अक्सिजनकाे पाइप कुरिरहे। बेड कुरिरहे। हेलिकप्टर खाेजेनन्। झण्डावाला गाडी राेजेनन्। बस्, सास खाेजेका हुन्, एम्बुलेन्स खाेजेका हुन्।

मास्कले रेटिएकाे कान, पिपिइले पाकेको शरीरले बिरामीकाे सेवा गर्दै हिँड्ने स्वास्थ्यकर्मीले हाैसला खाेजेका छन्। तर मेराे देशका प्रधानमन्त्री जनतासामु प्रतिज्ञा सम्म गर्दैनन्।

आफ्ना आसे-पासेलाई टिकाउन लाभका पद बाँड्दै हिँड्दा प्रधानमन्त्रीका आँखाले देखेनन्, अक्सिजन अभाव भएकाे? अपराधीलाई उपहार स्वरुप मन्त्री, हत्यारालाई आम माफी दिने तर जनतालाई अक्सिजन नदिने?

अहिले धरहरा मेराे गाैरव हाेइन। दुर-दराजलाई आज पनि वाशिङ्टन डिसी र काठमाडौं उस्तै हुन्। सगरमाथा र धरहरा उस्तै हुन्, तर प्रमुख विषय भनेको  अक्सिजन हाे। एम्बुलेन्स नै हाे। अस्पताल हाे।

म जुम्लीकाे छाेराे हुँ। सरकार ! सकिन्छ भने मेराे भागकाे अक्सिजन देउ। बदलामा म हुम्लाको चौंरी गाइकाे घ्यू पठाइदिउँला। जुम्लाकाे मार्सी चामलकाे भात त खाएकै छाै, सिमीकाे स्वाद चखाइदिउँला। यतिले पनि पुगेन भने दिने चिज अरु पनि छन्। तिमी मात्र, अक्सिजन त देउ !

मेरा बा कालापहाड गएका थिए, हाम्रो खुुसीकाे लागि। उतै राेगले थला परेर मृत्युसँग लडिरहेका छन्। बा सधैँ दिल्ली भन्छन्, इन्डिया भन्छन्। तर, काठमाडौं कहाँ छ, जान्दैनन्। मलाई शासन-सत्ता के काम?

हामीलाई हिजाे चुनावकाे बेला 'गाउँ-गाउँमा सिंहदरबार' भनिन्थ्यो। आज गाउँमा सिंह मात्रै छन्। मेराे नागरिता बनाउन, भाइकाे जन्मदर्ता बनाउन वा सिफारिस लिन नै मेराे बाले कमाएकाे आधा महिनाकाे खर्च जान्छ। अहिले हामी यी सब राेक्न तयार छाैं। बदलामा अभाव भएकाे ठाउँमा अक्सिजन मात्र पठाइदिए पुग्छ।

तिम्राे सत्तामा आज पनि रुखले कार्वनडाइअक्साईड दिन्छ भन्नेहरु नै दाेहाेरिएका छन्। रुख काट्ने तस्करहरुसँग तिम्राे भान्साकाे साइनाे छ। तिनीहरु अक्सिजनभन्दा पहिला घाटकाे तयारी गरिरहेका छन्।

म डा. गाेविन्द केसी माग्छु। मलाई डा. केसीकाे खाँचाे छ। जुन माग हिजाे उनले राखेका थिए, आज याे प्रमाणित हुँदैछ। एक हस्पिटल, एक एम्बुलेन्स र अक्सिजनमा तिम्राे ध्यान जान्छ कि नाई?

प्रकाशित मिति: : 2021-05-18 18:25:00

प्रतिकृया दिनुहोस्

    Agree 100% right

    • 2 बर्ष अगाडि
    • Pankaj kumar shukla