अक्सिजन भर्न धमाधम उठाइँदैछ बेवारिसे सिलिन्डर

रातोपाटी

काठमाडौँ

माया श्रेष्ठ

सोमबार ललितपुरको मलपोखरीमा बेवारिसे अवस्थामा सयौँ अक्सिजन सिलिन्डर फेला परेको समाचार प्रकाशित भयो । सो सिलिन्डर फेला पर्ने १०० ग्रुप्सका समाजसेवी अन्सु यादव थिए । देशमा कोरोना संक्रमितका लागि अक्सिजन सिलिन्डरको हाहाकार भइरहेका बेला ठूलो संख्यामा बेवारिसे सिलिन्डर फेला परेपछि उनले उत्साहित हुँदै मिडियालाई खबर गरे । बेवारिसे सिलिन्डरबारे समाचार प्रकाशित भएपछि प्रहरी र आविष्कार केन्द्रको टोली सो स्थानमा पुग्यो । तर, ती सिलिन्डरहरू  काठमाडौँ उपत्यका खानेपानी लिमिटेडको रहेको खुल्यो अनि सिलिन्डर अक्सिजनको नभएर कोलोरिन ग्यासको सिलिन्डर भएको पनि पत्ता लाग्यो । त्यसपछि सिलिन्डरलाई परीक्षणका लागि आविष्कार केन्द्र र नास्टमा लगियो ।

देशभर अक्सिजन सिलिन्डरको हाहाकार भएपछि यतिबेला प्रयोगमा नरहेका सिलिन्डरहरूलाई धमाधम संकलन गर्ने काम भइरहेको छ । प्रहरीदेखि सामाजिक अभियन्ताहरु यस कार्यमा लागेका छन् । तर, सिलिन्डर उठाउने नाममा जुन पायो त्यही सिलिन्डर उठाउने हो भने झन् ठूलो दुर्घटना निम्तने सक्ने खतरा विज्ञहरुले औँल्याएका छन् । नेपालमा अक्सिजन सिलिन्डर मात्र नभएर विभिन्न विषाक्त ग्यास भरिएका सिलिन्डर पनि पाइने हुँदा त्यसको पहिचान नगरी हचुवाको भरमा सिलिन्डर उठाउने र त्यसैमा अक्सिजन भरेर बिरामीलाई दिने हो भने यसले मानिसको ज्यान पनि जान सक्ने उनीहरुले चेतावनी दिएका हुन् ।

कोरोना महामारीबीच अक्सिजन अभाव भइरहेकै बेला देशभर १ लाख ११ हजार ३ सय ६४ सिलिन्डर उपलब्ध रहेको सरकारले जनाएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार उपत्यकाभित्रका १० उद्योग र बाहिर १९ उद्योगमा ठूलो ७२ हजार २ सय ५० र सानो ३९ हजार १ सय १४ सिलिन्डर रहेको छ । तर, कोभिड बिरामीले आवश्यकताको आधारमा सहजरुपमा अक्सिजन पाउन सकिरहेका छैनन् ।

प्रकाशित मिति: : 2021-05-18 16:41:00

प्रतिकृया दिनुहोस्