आय-आर्जनमा महिला- १

राजनीति र व्यवसायमा सँगसँगै बगिरहेकी नारायणी

तातोपानी गाउँपालिका- ५ की नारायणी चौलागाईं ३७ वर्षकी भइन्। हाल उनी राजनीति सँग-सँगै उद्यमशीलतामा पनि सक्रिय छिन्। उनको माइतीमा पारिवारिक वातावरण राजनीतिक थियो। माइला बुबा देविदत्त न्याैपानेले गा.वि.स. अध्यक्ष जित्दा उनी सानै थिइन्। घरमा चहलपहल र राजनीतिक भेटघाट भइरहन्थ्याे। त्यो सब देख्दा उनलाई रमाइलो लाग्थ्यो। यसले राजनीतिप्रति उनको रुचि बड्दै गयो।

‘त्यो देख्दा राजनीतिबाट समाजसेवा गर्न सकिन्छ भन्ने मेरो धारणा बन्याे। विस्तारै राजनीति भनेको जनताको सेवा हो भन्ने बुझ्दै गएँ,’ नारायणीले भनिन्, ‘यो विचार मेरो मनमा गडेर बसेको थियाे। सिंगो परिवार नै एमालेलेको राजनीतिमा लागेको हुनाले मलाई राजनीतिमा लाग्न सहज भयो।’

उनले बच्चैदेखि पार्टीको कार्यकर्ता भएर वा जनवर्गीय संगठनमा लाग्ने अवसर पाइनन्। कारण उनले सानै उमेरमा विवाह गरेकी थिइन्। सानै उमेरमा विवाहको सोच कसरी पलायो? कसैले यो प्रश्न गरिदिँदा उनलाई एकान्तमा बसेर टोलाउन मन लाग्छ।

‘सोच नै कस्तो भयो भयो। एक हिसाबले भन्ने हो भने अवस्था पनि त्यस्तै थियो। साथीसंगीको बिहे सानै उमेरमा भयो,’ उनले विगत सम्झिइन्, ‘म पनि लहलहैमा लागेँ। उमेरको उन्मादले थेग्न नसेकेर भएको गल्ती हो। जसका कारण जीवन भोगाइ नै फरक बनिदियो।’

त्यतिबेला उनी आठ कक्षामा पढ्थिन्। बिहे गरेर घरमा आउँदा पनि पढ्ने हुटहुटी भने घटेको थिएन। तर,  पोइली घरको पारिवारिक अवस्था गतिलो थिएन। घरमा श्रीमान र देवर पढिरहेका थिए। सासु काम गर्न नसक्ने, निकै बुढो उमेरकी थिइन्। अन्न उत्पादन भएको खण्डमा त्यसैले खान लाउन पुग्ने। तर, श्रीमान् र देवरको पढाइ-लेखाइका लागि चाहिने कापी कलम किन्न पैसा नपुग्ने।

कठिन परिश्रम गरेर परिवार चलाउनुपर्ने घरमा हुँदा पनि एक न एक दिन सबै व्यवस्थापन गरेर राजनीतिमा आउनुपर्छ भन्ने सोच राखिरहेकी थिइन्। राजनीतिको घोडा उनको मनमा उहिल्यै सवार भइसकेको थियो।

कहालीलाग्दो कथा बोकेर जिन्दगीको गोरेटोमा उकाली-ओराली गरिरहकी नारायणीलाई आफ्नो अर्को जीवन बिहेपछि सुरु भएको लाग्छ। ओठ निचोरेपछि दूध आउने उमेरमा उनले हजार माइल पूरा गर्नुपर्ने यात्राको लागि पहिलो पाइला चालेकी थिइन्। जसका लागि बाटोमा फिल्ममा बिहे हुँदा, माया बस्दा देखाइने दृश्यजस्तो फूलहरु बिच्छ्याइएको थिएन। त्यहाँ काँडाहरु थिए। बारम्बार तीनको तिखो घोचाइ सहनु पर्थ्यो।

२०५९ सालको कुरा हो। बिहे गरेर आउँदा श्रीमानले भर्खर एसएलसी दिएका थिए। देवर पढ्दै थिए। पैसा नभई पढाइ अगाडि बढ्ने थिएन। फाराम लाउने पैसा नहुँदा घरमा कयौँपटक नैरास्यताले बास गरेको हुन्थ्यो। आफ्नो पढाइलाई निरन्तरता दिने सोचसहित बिहे गर्न राजी भएकी नारायणीले घरमा श्रीमान र देवरको समेत पढाइ खर्च जुटाउने अवस्था आइलाग्यो।

स्कुले झोला धान्न धौ पर्ने कम्मरमा जिम्मेवारीको पहाडै बोक्न तयार भइन्। श्रीमान र देवर पढिरहेको घरमा उनी अर्की थपिएकी थिइन्। त्यसमाथि घरधन्दा धान्नु त छँदैथियो, जग्गा जमिन भइकन पनि बिहान साँझ मुखमा चार औँला पसाउन कठिन थियो। जग्गा जमिन गर्ने मान्छे थिएन। त्यही अन्न दिएर कामदार चलाउनुपर्ने थियो। त्यसैले कतिखेर अभाव हुन्छ थाहै हुँदैनथ्यो।

पढाइका लागि पैसा जुटाउने काममा नारायणी धेरै सक्रिय हुनुपर्ने थियो। त्यसका लागि उनले सुरु गरिन, प्रौढ शिक्षा दिन। प्रौढ शिक्षा दिनलाई तीन जनाले तालिम लिएका थिए। कक्षा लिनुपर्ने समयमा साथीहरुले नजिकका गाउँ रोजे। उनलाई नजिक भइदिए सजिलो हुन्थ्यो। तर, बाध्यताले टाढाको गाउँ हियाखोलामा जानुपर्ने भयो। पैसाका लागि उनले टाढा जान्न भनेर भन्न सकिनन्।

बिहान घरको काम, दिउँसो शिक्षा लिन स्कुल र साँझ शिक्षा दिन हियाखोला, बिहेपछि उनको दैनिकी थियो। हारिएर जानुपरेको हियाखोलामा दलित जनसंख्या बढी छ। दलित महिलाले आफ्नाे नाम आफैँ लेख्न सकेमात्रै पनि ठुलै उपलब्धि हुने थियो। स्टाम प्याट र ल्याप्चे चिनारीबाट सही गर्न सक्ने परिचयले सिंगो हियाखोलाका महिलाको मुहारमा मुस्कान छायो। दिउँसै अँध्यारो लाग्ने गाउँमा राति पनि उज्यालो देखियो। त्यसपछि नारायणी आफूले जितेको महसुस गर्न थालिन्।

आफ्नो परिचय हातको बुढी औँलामा कैद गरेका महिलाको मुहारमा खुसी देख्दा उनको अनुहारमा दियो बलेजस्तो भयो। सँगै दिमागी चेतनाको बिर्को खुलेजस्तो लाग्यो।

आठ कक्षा पढिरहेकी उनले गाउँमा नपढेका तमाम महिला देखिन। उनीहरु थोरै मात्रै शिक्षित भएको खण्डमा परिवार शिक्षित हुने अड्कल काछ्न लागिन। तर, यो गरिदिने कसले? राज्यसत्ताले गर्ने भए यत्रो समयसम्म किन गरेन त? त्यसैले आफू तयार हुने उनको सोच बन्याे। सानैदेखि राजनीतिमा लाग्ने भनेर बनाएको धारणा फराकिलो बन्यो।

घरधन्दा, आफ्नो पढाइका साथसाथै उनले बालशिक्षा पढाउन थालिन्। नजिकका महिलालाई केही सिकाउन थालिन्। वडा-वडामा बालविकास केन्द्रको स्थापना भयो। उनले दलित बस्तीमा रहेको बालविकास केन्द्रमा पढाउन थालिन। निम्न वर्गसम्म पुग्नुपर्छ र सेवा त्यहीँबाट सुरु गर्नुपर्छ भन्ने उनको सोच बलियो बन्दै गयाे। पढेर कम्युनिस्ट विचारसँग परिचित भइनसकेको अवस्थामा उनले वर्गीय समाज चिनिसकेकी थिइन्। यिनै कारणले उनलाई राजनीतिप्रति आकर्षित गराइरह्याे।

उनी खाली कहिल्यै बसिनन्। पढ्ने, पढाउने र आय-आर्जनका गतिविधिमा सरिक भइरहने बानीका कारण उनले दु:खका दिन पार गर्दै गइन्। छोराछोरी हुर्काउँदै उनले पढाइलाई निरन्तरता र प्रमाणपत्र तहसम्मको शिक्षासमेत आर्जन गरिन्। त्यसपछि भने उनलाई पढ्न मन लागेन। बालविकासमार्फत् दलित बालबालिकाको पढाइमा रुचि बढ्दै थियो। त्यहीबेला उनले आफ्नाे विगत सम्झिँदै वर्तमानमा कमजोर आर्थिक अवस्था भएकी महिलालाई बालविकास केन्द्रको जिम्मेवारी दिएर आफू सहकारीतिर लागिन्।

थप आय-आर्जनका काममार्फत् पैसा जुगाड गरेर श्रीमान् पढाउने सोच पलायो। घरधन्दामा व्यस्त महिलाले आफू पढेर पुरुषलाई काममा लगाएको खण्डमा गाउँमा अनेकथरि कुरा चल्थे। त्यसैले उनले श्रीमान पढाइन्। श्रीमानले लोक सेवा आयोग पास गरे। उनले जिन्दगीमा अर्को सफलता हात पारिन्। घरको आर्थिक अवस्था सुध्रिदै गयो। उनलाई राजनीतिमा आउने बाटो खुला भयो।

पितृसत्तात्मक समाजमा महिला अगाडि लाग्नुका अनेक कठिनाइहरु छन्। ‘स्वास्नी मुखेनी, बाख्रो बटालो’, ‘पोथी बाँसेको सुहाउँदैन’ भनेर खुलेआम भन्ने समाजमा उनले राजनीतिमार्फत् समाजसेवामा लाग्छु भनेर हिँडिन।

यो यात्राले उनलाई जनप्रतिनिधि हुने अवसर अहिलेसम्म दिएको छैन। व्यापक जनताले चुनेका छैनन्। कम्युनिस्ट पार्टीको राजनीतिमा वैचारिक स्पष्टता र क्रियाशीलतालाई महत्वका साथ हेरिन्छ। सोही अनुरुपको जिम्मेवारी पाइरहेकी छन्। हाल उनी नेकपा (एमाले)को कर्णाली प्रदेश समिति सदस्य हुन्।

यतिले मात्रै नारायणीको परिचय पूरा हुँदैन। राजनीतिमार्फत् समाजसेवा गर्न उतिसहज छैन। हरेक पाइला-पाइलामा पैसा आवश्यक पर्छ। सँधैभरि श्रीमानकाे भर पर्नु परनिर्भर हुनु हो। त्यसैले उनले उद्यमशीलतालाई जोड दिएकी छन्। स्थानीय उत्पादन कच्चा पदार्थ बन्ने गरी खोलिएको उद्याेगमा उनले ३० लाख लगानी गरेकी छन्।

त्यसमध्ये चोताेको अचार उनको विशिष्टता हो। संघीय सांसदको उम्मेदवार हुँदै गर्दा ज्ञानेन्द्र शाहीले जुम्ली चोतो र चोतोका परिकारहरु बनाएर अन्तर्राष्ट्रिय बजारमा बिक्री गर्ने चुनावी घोषणा गरेका थिए। सांसद शाहीले चोतो ब्रान्डिङ गर्नलाई हालसम्म प्रक्रिया अगाडि बढाएका छैनन्। यता नारायणीले भने उनको सोचलाई हकिकतमा बदलेकी छन्।

यो काम हाल आएर देखाउनलाई वा सोखका लागि मात्रै होइन। मनग्य आम्दानी लिन र कारोबारको दायरा फराकिलो बनाउन हो। उद्योगको वार्षिक कारोबारमात्रै २० लाख बराबर भइरहेको छ। उनले भनिन्, ‘आम्दानी पाँच लाखसम्म भइरहेको छ। अहिले चोतोको अचारसँगै लसुनको अचार पनि बनाउने गरेकी छु। त्यस अलवा स्याउका चाना, सिमी र मार्सी चामलको व्यापार पनि गरिरहेकी छु। मेरो आम्दानीको मुख्य स्रोत यही हो।’

उनी स्याउको चाना बनाउने सिजनमा महिनादिन जति १०-१२ जना महिलालाई रोजगारी दिन्छिन्। अचार भने उनी आफैँ बनाउने गरिरहेकी छन्। अचारका लागि चार क्विन्टल जती चोतो कच्चा पदार्थको रुपमा प्रयोग हुन्छ भने एक क्विन्टल बराबरको लसुन। चोतो र लसुन गरी दुईथरिको अचार बन्छ। दिनभरजसो राजनीतिक गतिविधिमा संलग्न हुने उनी राति अबेरसम्म एक्लै बसेर प्याकिङ र लेभलिङको काम गरिरहेकी हुन्छिन्।

अभावका कारण पैसा र यसको महत्त्व बुझेकी नारायणी पुग्दो कमाइ गरिरहेकी छन्। श्रीमान सरकारी जागिरे छन्। घरमा सामान्य खेतीपातीबाट पनि गुजारा चल्ने थियो। केही नगरी आरामाले बस्दा पनि हन्थ्यो। तर, महिला आत्मनिर्भर भएको खण्डमा वा महिला आय-आर्जनमा लागेको खण्डमा आर्थिक स्वतन्त्रता हुने उनको बुझाइ छ। जसका कारण पनि उनी राजनीति सँगसँगै उद्यमशीलालाई पनि जोड दिइरहेकी छिन्।

प्रकाशित मिति: : 2024-01-13 17:12:00

प्रतिकृया दिनुहोस्