कोभिड–१९ सङ्क्रमण नियन्त्रणका लागि विभिन्न जिल्लामा जारी गरिएको निषेधाज्ञा र सरकारद्धारा यसको रोकथाम, उपचार तथा नियन्त्रणका सन्दर्भमा दिइएका निर्देशन कार्यान्वयनको अवस्था सन्तोषजनक देखिएको गृह मन्त्रालयले जनाएको छ।
मन्त्रालयले आज विज्ञप्ति जारी गरी आदेशको प्रभावकारी कार्यान्वयन र असहज परिस्थितिलाई सहज तथा सामान्य तुल्याउनु अझै अत्यावश्यक रहेकाले थप सचेत हुन नागरिकसँग अनुरोध गरेको छ।
प्राप्त जानकारीअनुसार आजसम्म चार जिल्लामा आंशिकसहित मुलुकका ७४ जिल्लामा आदेश कार्यान्वयनमा रहेको छ।
मनाङ, खोटाङ र तेह्रथुम जिल्लामा आदेश जारी गरिएको छैन। देशमा दोस्रो लहरको कोभिड–१९ को सङ्क्रमण बढ्दो छ। गत वर्षका तुलनामा यस वर्ष बढी असर र खतरनाक देखिएको विज्ञले बताउँदै आएका छन्।
मन्त्रालयका प्रवक्ता जनकराज दाहालद्वारा जारी विज्ञप्तिमा अत्यावश्यक सेवा प्रवाहका लागि आवश्यकतानुसार सवारी साधन सञ्चालन गरिएको र आवश्यक अक्सिजन आपूर्ति सकेसम्म सहज बनाइएको उल्लेख छ।
अक्सिजन उत्पादन, आपूर्ति तथा वितरण प्रणाली भरपर्दो, पारदर्शी र न्यायसङ्गत तुल्याउन अक्सिजनसँग सम्बन्धित उद्योगमा भरपर्दो सुरक्षा व्यवस्था मिलाउन ३३ स्थानमा डेडिकेटेड सुरक्षा टोली खटाइएको मन्त्रालयको भनाइ छ।
अक्सिजन प्लान्ट चौबीसै घण्टा सञ्चालन गर्ने व्यवस्था मिलाइएको र विद्युत्् आपूर्तिको व्यवस्था गरिएको पनि विज्ञप्तिमा उल्लेख छ।
मन्त्रालयका अनुसार यसबीचमा निषेधको आदेश अवज्ञा गरी मास्क नलगाई हिँड्ने २१ हजार ९४२ जनालाई जरिवाना तिराइएको छ। सचेतनामूलक कार्यक्रममार्फत चार लाख ३७ हजार बढीलाई मास्क वितरण गरिएको छ।
कोरोना बढिरहेका अवस्थामा भीडभाडजन्य गतिविधि नगर्न, मास्कको उचित प्रयोग गर्न, भौतिक दूरी कायम गर्न, बारम्बार साबुनपानीले हात धुन तथा नियमित रुपमा सेनिटाइजरको प्रयोग गर्न मन्त्रालयले सबैमा अनुरोध गरेको छ।रासस