बादलको राजनीतिक भविष्यमा ‘कालो बादल’ !

रातोपाटी

काठमाडाैं

हेटौँडाबाट राष्ट्रियसभा उपनिर्वाचनको मतपरिणाम आइसकेकै थिएन, बिहीबार दिउँसो अकस्मात् सर्वोच्च अदालतले रामबहादुर थापा बादलको गृहमन्त्री पद असंवैधानिक ठहर गर्दै खारेज गरिदियो।

उपचुनाव जितेको भए बादललाई फेरि गृहमन्त्री बन्ने बाटो खुल्नसक्थ्यो। तर, उपचुनावमा पनि उनले पराजय व्यहोरे। बादलका लागि राजनीतिक जीवनमा एकैदिन दुईवटा चट्याङ परेजस्तो भयो।

बिहीबार सम्पन्न राष्ट्रिय सभा उपनिर्वाचनमा पराजित भएका बादलको गृहमन्त्री पदसमेत गुमेको छ। गृहमन्त्री र राष्ट्रिय सभा सदस्य पद दुवै गुमाएका बादलको आगामी राजनीतिक भविष्यमाथि अब थप कालो बादल मडारिने निश्चितजस्तै छ।

यसअघि माओवादी केन्द्रबाट राष्ट्रिय सभा सदस्यमा निर्वाचित बादल माओवादी अध्यक्ष प्रचण्डको प्रस्तावमा गृहमन्त्री भएका थिए। तर, माओवादी पार्टी परित्याग गरेर एमाले प्रवेश गरेसँगै बादलको राष्ट्रिय सभा सदस्य पद गुम्न पुगेको थियो। सोही स्थानमा भएको उपनिर्वाचनमा बादल बिहीबार डा. खिमलाल देवकोटासँग पराजित बन्न पुगे।

एमाले पार्टीभित्रको आन्तरिक विवादकैबीच उपनिर्वाचनमा एमालेका आधिकारिक उम्मेदवार बनेका थिए बादल। बादलका प्रतिस्पर्धी काँग्रेस, माओवादी केन्द्र र जसपाका संयुक्त उम्मेदवार थिए डा. खिमलाल देवकोटा।

प्रकाशित मिति: : 2021-05-20 18:33:00

प्रतिकृया दिनुहोस्