कोरोना महामारीसँगै सम्भाव्य प्राकृतिक विपद्का समयमा जनताको साथमा रहने प्रतिबद्वतासहित नेपाली कांग्रेस कास्कीले बिहीबारदेखि छलफल थालेको छ।
जिल्लाका छवटै प्रदेशसभा क्षेत्रका नेता तथा कार्यकर्तासँग छलफल गरी विपद्मा जनतासँग कसरी जोडिने भन्ने विषयमा आवश्यक निर्णयमा पुगिने कास्की कांग्रेसका सभापति कृष्ण केसीले जानकारी दिए।
कोराना महामारी र वर्षा यामसँगै बढ्ने बाढीपहिरोजस्ता घटनामा धनजनको क्षति हुँदा जनतालाई कसरी सहयोग र राहत दिन सकिन्छ भन्ने सम्बन्धमा पार्टी गम्भीररूपमा छलफलमा जुटेको कास्की कांग्रेसका प्रवक्ता नवीन सिग्देलले बताए। कांग्रेस कास्की क्षेत्र नं १ प्रदेश (क) बाट छलफल शुरु गरेको जानकारी दिँदै उनले प्राप्त सुझावका आधारमा आवश्यक निर्णयमा पुगिने बताए।
छलफलमा कांग्रेसका पूर्वमहामन्त्री तारानाथ रानाभाट, केन्द्रीय सदस्य जीवन परियार, पूर्वमन्त्री यज्ञबहादुर थापालगाायतले जिम्मेवार पार्टी जनतालाई समस्या पर्दा सहयोगमा जुट्नुपनेमा जोड दिँदै कोरोना महामारीको समयमा कस्कीले प्रशंसनीय कार्य गर्दै आएको बताए।
यसअघि वैशाख २६ गतेको पार्टीको जिल्ला कार्यसमितिको बैठकबाट कोरोना सङ्क्रमित बिरामीको सहजताका लागि निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन गर्ने निर्णय गरेको कांग्रेसले जेठ १ गतेदेखि एम्बुलेन्सले सेवा दिइरहेको छ। रासस