नेपाल सरकारका पूर्व सिंचाइ राज्यमन्त्री एवम् संविधानसभा सदस्य अमरसिंह पुनको पहलमा रोल्पामा एक सय थान एन्टिजेन किट पठाइएको छ। जिल्लामा समुदाय स्तरमा पुगेको कोरोनाको जाँच गर्न किट रोल्पा अस्पतालमा पठाइएको हो।
नेपाली कांग्रेस रोल्पाका सभापति समेत रहेका पुनले आफूहरूले उपलब्ध गराएको सहयोगले समुदाय स्तरमा फैलिएको कोरोनाको पहिचान गरि समुदायमा कोरोनाको अवस्था थाहा पाउन मदद्त गर्ने बताएका छन्।
देशले स्वास्थ्य संकट खेपिरहेकाले कोरोना विरुद्धको लडाइँमा सबै एकजुट हुनु पर्नेमा नेता पुनले जोड दिएका छन्। विज्ञहरूले अवस्था थप भयावह र जटिल बन्न सक्ने चेतावनी दिइरहेकोले सरकारले गम्भीरता साथ राज्यको सम्पूर्ण संयन्त्र कोभिड नियन्त्रणमा लगाउनु पर्ने उनले बताएका छन्।
‘स्वास्थ्य सामग्री यथाशीघ्र जनतालाई अनुभुती हुनेगरि सबै ठाउँमा पठाउनुपर्छ। भन्सुन र शक्तिका भरमा अक्सिजन सिलिन्डर लगायत अन्य सामग्री बितरण भैरहेको जनगुनासो व्यापक छ। धेरै जनता रोगसँग लडिरहेका छन्। उनले भने, ‘समान तरिकाले सम्पूर्ण स्थानमा स्वास्थ्य सामाग्री बितरण गर्ने ब्यबस्था गरियोस्।’
उनले निति, नियम, संविधानको मर्म एवम् जनअपेक्षा विपरीत चलिरहेको ओली नेतृत्वको सरकारलाई दबाब दिन पार्टीकै लगानीमा पहिलो चरणमा स्वास्थ्य सामाग्री रोल्पा पठाइएको बताए।
समुदाय स्तरमै कोरोना बढिरहेको रोल्पामा अक्सिजन र आवश्यक स्वास्थ्य सामाग्रीको अभावले सङ्क्रमितको उपचारमा समस्या परिरहेको रोल्पा अस्पतालका मेडिकल अधिकृत डा। आधार वलीले बताएका छन्।