चार दिनमा १८ संक्रमितको मृत्यु, बिरामीप्रति जिम्मेवार बन: सात दल

धरानमा क्रियाशील सात राजनीतिक दलका नेता तथा कार्यकर्ता अस्पताल सुधारको माग गदैं धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति कार्यालयअगाडि सोमबार प्लेकार्डसहित धर्ना दिँदैं । तस्वीर: देवेन्द्र कार्की/रासस

यहाँस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारीलाई अस्पताल व्यवस्थापन र कोभिड सङ्क्रमितका उपचारमा विशेष ध्यान दिन यहाँका सात राजनीतिक दलका प्रतिनिधिले ध्यानाकर्षण गराएका छन्।

उपकुलपति कार्यालय अगाडि आज एक घण्टा धर्ना दिइ उनीहरुले तत्काल अक्सिजन प्लान्ट मरमत गरी पूर्ण क्षमतामा सञ्चालन गर्न र कोरोना सङ्क्रमितका उपचारमा उच्च प्राथमिकता दिन उपकुलपति डा ज्ञानेन्द्र गिरीसँग आग्रह समेत गरेका छन्।

यसरी ध्यानकर्षण गराउने पार्टीमा नेपाली काँङ्ग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी, संघीय राज्य परिषद, जनमुक्ति पार्टी लगायत रहेका छन्।

काङ्ग्रेस सुनसरीका सचिव सुजेन्द्र तामाङले  सङ्क्रमितका  उपचारमा प्रतिष्ठानले ध्यान नदिएको आरोप लगाउँदै उपकुलपतिले अस्पताल व्यवस्थापन गर्न नसकेको बताए।

प्रतिष्ठानमा प्रतिमिनेट १६ सय लिटर अक्सिजन उत्पादन गर्ने प्लान्ट भए पनि पूर्ण क्षमतामा सञ्चालनमा हुन सकेको छैन। प्रतिष्ठानद्वारा सञ्चालित कोभिड अस्पतालमा गत चार दिनका अबधिमा १८  बिरामीको मृत्यु भएको थियो। रासस

प्रकाशित मिति: : 2021-05-24 17:12:00

प्रतिकृया दिनुहोस्