एम्स चिकित्सकको दावीः कोरोनाको तेस्रो लहरमा बालबालिका त्यति प्रभावित नहुने

बिएल संवाददाता

नयाँ दिल्ली

कोरोनाको तेस्रो लहरमा बालबालिका सबैभन्दा बढी प्रभावित बन्ने खबरको भारतीय चिकित्सकहरूले खण्डन गरेका छन्।

भारतको चर्चित एम्स अस्पतालका निर्देशक डा. रणदीप गुलेरियाले कोरोनाको पहिलो र दोस्रो लहरमा निकै कम बालबालिका संक्रमित भएको हुनाले तेस्रो लहरमा बढी बालबालिका प्रभावित हुने तथ्यमा कुनै दम नभएको बताएका छन्।

स्वास्थ्य मन्त्रालयले सोमबार गरेको पत्रकार सम्मेलनमा उनले अभिभावकलाई बढी नआत्तिन पनि सुझाव दिएका छन्।

भारतको पेडियाट्रिक्स संघले पनि बालबालिकामा कोरोनाको तेस्रो लहर प्रभावशाली बन्ने कुरामा आधिकारीक पुष्टि नभएको स्पष्ट पारेको छ।

भारतमा दुई सातामा १० लाख एक्टिभ केसमा कमी आएको छ। स्वास्थ हुनेको संख्या पनि बढ्दो मात्रामा छ। ३ मेदेखि ‘रिकभरी रेट’ ८१ दशमलव ७ प्रतिशत रहेको स्वास्थ्य मन्त्रालयले बताएको छ।

भारतमा ४५ वर्षमाथिका १४ दशमलव ५६ करोड मानिसले पहिलो र दोस्रो खोप लगाइसकेका छन्। १८ देखि ४४ वर्ष समूहका १ करोड ६ हजार मानिसमा पहिलो खोप लगाइसकिएको छ।

प्रकाशित मिति: : 2021-05-24 18:43:00

प्रतिकृया दिनुहोस्