कोरोना महामारीबाट देश ग्रस्त बनिरहेका बेला लागुऔषध तस्कर भने, त्यही महामारीलाई हतियार बनाएर आफ्नो अवैध धन्दा चलाउँदै आएका छन्।
साइरन बजाउँदै आएको एम्बुलेन्सलाई प्रहरीले रोक्ने कुरै भएन। एम्बुलेन्सभित्र नक्कली बिमारी राखेर तस्करले साइरन बजाउँदै गाँजा ओसार्दै गरेको बेला धरान प्रहरीले १ सय किलो अवैध गाँजा बरामद गर्यो।
सोमबार धरान उपमहानगरपालिका २ स्थित सडकबाट को १ च ५५५९ नम्बरको एम्बुलेन्सबाट प्रहरीले उक्त गाँजा बरामद गरेको हो।
साइसन बजाउँदै हिँडेका बेला प्रहरीलाई शंका लागेर उक्त एम्बुलेन्स रोकेर चेकजाँच गर्दा एक सय किलो अवैध गाँजा फेला परेको हो।
प्रहरीले गाँजासँगै चालक धरान उपमहानगरपालिका १५ का ३६ वर्षीय बल बहादुर लिम्बु र सोही उपमहानगरपालिका ११ बस्ने धनकुटा सहिदभूमि गाउँपालिका १ का २८ वर्षीय पोशन राईलाई पक्राउ गरेको छ।
धनकुटा भेडेटारबाट धरानतर्फ आउँदै गरेको उक्त एम्बुलेन्सलाई प्रहरीले जाँच गर्ने क्रममा एम्बुलेन्स पछाडीको भागमा ४ वटा झोलामा रहेको उक्त परिमाणको गाँजा फेला परेको हो। गाँजासहित पक्राउ परेकालाई थुनामा राखी आवश्यक अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।