लुम्बिनी प्रदेशका मुख्यमन्त्री तथा एमाले नेता शंकर पोखरेलले अढाई दशक पहिलेको राजनीतिलाई गिरिजाप्रसाद कोइरालाले ट्रयाकमा ल्याएजस्तै अहिलेको राजनीतिलाई प्रधानमन्त्री केपी शर्मा ओलीले ट्रयाकमा ल्याएको बताएका छन्।
सामाजिक सञ्जालमा आफ्नो धारणा सार्बजनिक गर्दै उनले विपक्षी नेताहरुको बढ्दो घेराबन्दीले प्रधानमन्त्री ओलीप्रति नै सर्बसाधारणको सहानुभूती बढ्दै गएको बताए।
पार्टीभित्र र बाहिरका शक्तिहरुले सरकारलाई असफल बनाउन लागि परेको उनको आरोप छ।
उनले भनेका छन्:
''अहिले केपी शर्मा ओलीका बिरुद्धमा जस्तै अढाई दशक पहिले नेपाली राजनीति गिरिजाप्रसाद कोइरालाका बिरुद्धमा केन्द्रीत थियो। त्यतिबेला उहाँको तिब्र बिरोधसंगै नेपाली राजनीतिक परिस्थिति झनै जटिल बन्दै गयो। मुलुक बहुआयामिक द्बन्द्बको शिकार बन्न पुग्यो। पछि नेपाली राजनीतिलाई ट्रयाकमा ल्याउन सबैले उहाँको खोजी गर्नु पर्यो। अहिले नेपाली राजनीति पुनः त्यहीबाटो हिँड्न लागिरहेको भान भइरहेको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीका बिरुद्धमा पार्टी भित्र र बाहिरका शक्तिहरु जसरी एक ठाउ उभिएका छन् त्यसले बिकल्प र समाधान दिने अपेक्षा र बिश्बास आम मानिसको छैन। बरु प्रमुख नेताहरुको बढ्दो घेराबन्दीले उहाँप्रति नै सर्बसाधारणको सहानुभूती बढ्दो छ। आम मानिसहरुले अहिलेको बिबादलाई कुर्सीको लुछाचुडीका रुपमा मात्र बुझिरहेका छन्। अनि यसबाट अत्तालिएका प्रतिपक्षीहरु बिरोधका नाममा प्रणालीलाई नै कमजोर बनाउन उद्दत देखिएका छन्। दलिय अनुशासन र संसदीय प्रणालीका बिरुद्धको कदमले अन्ततः ब्यबस्थालाई नै कमजोर बनाउने निश्चित छ। त्यस्तो अबस्थामा बिगतमा गिरीजाको खोजी भएजस्तै भबिष्यमा उत्पन्नहुने संकटको समाधानका लागि केपीशर्मा ओलीको खोजी गर्नुपर्ने अबस्था नआउला भन्न सकिन्न। तसर्थ, समयमै आफ्नै इतिहासबाट शिक्षा लेउ र सही बाटोमा अघि बढौ।''