कोभिड नेपाल: गण्डकी प्रदेशका 'गाउँगाउँमा कोरोना भाइरस', तर परीक्षण गराउन आनाकानी

बिबिसी

पोखरा

कोरोनाभाइरसको दोस्रो लहर घना बसोबास भएका सहरी क्षेत्रमा मात्र सीमित नरहेर गण्डकी प्रदेशका गाउँगाउँमा फैलिएको अधिकारीहरूले बताएका छन्।

गाउँघरमा हुने विवाह, चौरासी पूजाजस्ता धार्मिक र सामाजिक सांस्कृतिक गतिविधिमा हुँदै आएका जमघटले कोरोनाभाइरस सङ्क्रमण फैलाउन सघाउ पुगेको स्वास्थ्यकर्मी र जनप्रतिनिधिले बताएका छन्।

कोरोनाभाइरसको लक्षण देखिए पनि स्वाब परीक्षणमा ग्रामीण समुदाय अग्रसर नहुँदा यसको नियन्त्रणमा चुनौती थपिएको स्वास्थ्य क्षेत्रका विज्ञहरूको मत छ।

गोरखा जिल्लाको बारपाक सुलीकोट गाउँपालिकाको ओडा नं १ र २ बारपाकमा केही समय अघिदेखि कोरोनाभाइरससँग मिल्दोजुल्दो लक्षण देखिएका बिरामीको सङ्ख्या बढेको मात्र होइन मृत्यु हुने क्रम पनि बढेको बताइन्छ।

तर गाउँपालिकाले स्वाब परीक्षणको तीन पटक प्रयास गर्दा पनि उल्लेख्य रूपमा स्थानीय जनता नआएको गाउँपालिका अध्यक्ष विष्णु भट्टको दुखेसो छ।

परीक्षण गराउन सङ्कोच

"कोरोनाभाइरस सङ्क्रमण पुष्टि भयो भने समाजमा हेप्छन्, घृणा गर्छन् भन्ने धारणाका कारण परीक्षण गर्न नमान्ने गरेको अवस्था छ," उनले भने।

अहिलेसम्म कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएका तीन जना र मिल्दोजुल्दो लक्षण भएका छ जनाको मृत्यु भएको र झन्डै २०० जना बिरामी परेको उनले जानकारी दिए।

 

प्रकाशित मिति: : 2021-05-28 18:02:00

प्रतिकृया दिनुहोस्