‘जनताको जीवनमा परिवर्तनको अनुभूति गराउनु आवश्यक छ’

फाइल तस्वीर
फाइल तस्वीर

वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले गणतान्त्रिक व्यवस्थाप्रति जनताको भरोसा बढाउन परिवर्तनको अनुभूति गराउनु आवश्यक रहेको बताएका छन्।

गणतन्त्र दिवसका अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै उनले  राजनीतिक खिचातानीका कारण व्यवस्थाप्रति नै नैराश्यता पैदा गर्ने जबर्जस्त प्रयास हुँदै आएको उल्लेख गरेका छन्।

कुनै पनि व्यवस्था अभ्यासबाट परिपक्व हुँदै जाने उल्लेख गर्दै पौडेलले संवैधानिक तथा कानूनी प्रबन्धको परिधिभित्र रहेर संवैधानिक दायित्व पूरा गर्ने संस्थालाई अनावश्यक विवादमा तान्नु नहुने बताएका छन्।

'नेपाली जनताको अथक सङ्घर्ष र बलिदानको जगमा सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्थाको स्थापना भएको हो, गणतन्त्र दिवसका अवसरमा देश र जनताको हितका लागि आफ्नो अमूल्य जीवन उत्सर्ग गर्नुहुने महान् शहीदहरुप्रति हार्दिक श्रदाञ्जलि व्यक्त गर्दछु, घाइते एवम् अङ्गभङ्ग भई उपचारमा रहनुभएका योद्धाहरुको शीघ्रस्वास्थ्य लाभको कामना गर्दछु', पौडेलले सन्देशमार्फत भनेका छन्। रासस

प्रकाशित मिति: : 2021-05-29 15:16:00

प्रतिकृया दिनुहोस्