वाग्मती सफाइ महाअभियान ४२० औँ हप्तामा

File photo
File photo

नयाँ भेरियन्टसहितको कोरोनाको दोस्रो लहरबाट बच्न जारी निषेधाज्ञाका बीच वाग्मती सफाइ महाअभियानलाई भने निरन्तरता दिइएको छ। 

वाग्मती सफाइ महाअभियानको ४२०औँ हप्तामा पशुपति र शङ्खमूल क्षेत्रमा सफाइ गरिएको छ। पशुपति क्षेत्रमा अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका सञ्चालक सदस्य डा माला खरेल र काठमाडौँ महानगरपालिका–९ का सदस्य टेकराज अधिकारीले सफाइ गरेका छन्। निषेधाज्ञा र कोरोनाबाट निधन भएकाको शवदाह जारी रहेकाले पशुपतिक्षेत्रको आर्यघाटमा धेरै फोहर देखिएको छ।

शङ्खमूल क्षेत्रमा अभियानकर्मी डा लक्ष्मी पौडेलको नेतृत्वमा सफाइ गरिएको छ। दुवै स्थानमा भौतिक दूरी कायम गर्दै स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा गरेर सफाइ गरिएको छ। यसैगरी उपत्यकाका अन्य स्थानमा पनि नदी किनार नजीक निवास भएका अभियानकर्मीले स्थलगत रुपमै र अन्य घरअघिको टोल क्षेत्रमा सफाइ गरेको जनाइएको छ। 

विसं २०७० जेठ ५ गते वाग्मती सफाइ महाअभियान पशुपति क्षेत्रको गुह्येश्वरी मन्दिर परिसरबाट शुरु गरिएको थियो । महाअभियान शुरु भएपछि उपत्यकामा यसका सहायक नदी, चक्रपथ गरी २० स्थानमा सफाइ भइरहेको छ। यसैगरी उपत्यकाबाहिरका मुख्य नदी, शहर र सांस्कृतिक सम्पदा क्षेत्रमा पनि सफाइ अभियान शुरु भएको छ। उपत्यका बाहिर करीब १०७ स्थानमा सफाइ भइरहेको छ।

सफाइ महाअभियान शुरु भएदेखि प्रत्येक हप्ता शनिबार बिहान दुई घण्टा ‘देशका लागि स्वयंसेवा’ भन्ने नाराका साथ जारी छ। चाडपर्व, जाडो, गर्मी, भूकम्प, नाकाबन्दी, कोरोना महामारीजस्ता प्रतिकूल अवस्थामा पनि महाअभियान जारी छ। 

महाअभियानले कोरोनाबाट बच्न मानव शरीरमा रोग प्रतिरोधी क्षमता विकास गर्ने उद्देश्यले प्रत्येक दिन बिहान साढे ६ः०० बजेदेखि साढे ७ः०० बजेसम्म प्राणायाम, योगजस्ता अभ्याससमेत गराइरहेको छ। यसैगरी प्रत्येक हप्ता विज्ञ चिकित्सक एवं कोरोना भई सफलतापूर्वक उपचार सम्पन्न गरी जितेकासँग अन्तरक्रिया गरी जागरण फैल्याइएको छ। रासस 

प्रकाशित मिति: : 2021-05-29 15:35:00

प्रतिकृया दिनुहोस्