विभिन्न जिल्लामा लागू गरिएको निषेधाज्ञा कार्यान्वयनको सिलसिलामा पछिल्लो २४ घण्टामा निषेधाज्ञा उल्लंघन गर्ने ५ सय ८० वटा सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ। तीमध्ये २ सय २ वटा गाडी र ३ सय ७८ वटा मोटरसाइकल रहेका छन्।
नियन्त्रणमा लिएका सवारी साधनहरुलाई आवश्यक सोधपुछ पश्चात छोडिने गरिएको छ।
साथै नयाँ भेरियन्ट सहितको कोभिड-१९ संक्रमणको रोकथाम तथा जोखिम न्यूनीकरणका लागि नेपाल प्रहरीद्वारा संचालित ‘तपाईंको मास्क खोई?’ कार्यक्रम अन्तर्गत पछिल्लो २४ घण्टामा ८ सय ३५ जनालाई निस्शुल्क मास्क वितरण गरिएको छ।
कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा तोकिएको मापदण्ड उल्लंघन गर्ने २ सय १७ जनालाई संक्रामक रोग ऐन, २०२० बमोजिम २२ हजार ३ सय रुपैयाँ जरिवाना गरिएको छ। साथै १ हजार ४ सय ८४ जनालाई रोकी सम्झाई बुझाई छाडिएको छ।
साथै देशभर सञ्चालित ८८ वटा माईकिङ, प्लेकार्ड, पर्चापम्प्लेट सहितको सचेतनामूलक कार्यक्रम अन्तर्गत १४ हजार ६ सय ८९ जनालाई सचेत गराइएको छ।
निषेधाज्ञा कार्यान्वयनलाई थप प्रभावकारी र सफल बनाउन नेपाल प्रहरीले अन्य सुरक्षा निकाय लगायतका सरोकारवालाहरुसँग आवश्यक समन्वय, सहकार्य गरी अनुगमनलाई समेत तिब्रता दिएको छ।