कोरोना भाइरसलाई लिएर चीनप्रति अमेरिका झन् आक्रामक

फाइल तस्वीर
फाइल तस्वीर

कोरोना भाइरसको महामारीलाई लिएर चीनप्रति अमेरिका झन् बढी आक्रामक बनेको छ।

अमेरिकाका नवनियुक्त राष्ट्रपति जो बाइडेनले ९० दिनभित्र कोरोना भाइरसको उत्पत्तिको स–प्रमाण पेश गर्न आफ्नो जाँच एजेन्सीलाई उर्दी लगाएपछि चीनप्रति दबाब बढेको हो।

बाइडेनको आक्रामक रवैयासँगै विश्वका अन्य देशका बैज्ञानिकले पनि चीनको विरोधमा खुलेर कुरा गर्न थालेका छन्। बेलायती बैज्ञानिकले हालै दिएको बयानमा चीनको उहानस्थित ल्याबबाट कोरोना फैलिएको दाबी गरेका छन्।

उनीहरूले लाटोकसेरोबाट कोरोना फैलिएको चीनको दाबीलाई खारेज गरेका छन् भने कोरोना भाइरसको लक्ष्ण हेर्दा यो ल्याबमा तयार पारिएको दावी उनीहरूको छ।

बेलायती बैज्ञानिकको दावीपछि अमेरिकाका पूर्व विदेश मन्त्री माइक पोम्पियोले चिनियाँ सेनाको गतिविधि उहानको ल्याबसँग जोडिएको भन्दै यहीँबाट कोरोना भाइरसको उत्पत्ति भएको उनको दाबी छ।

पोम्पियोले हालै दिएको एउटा अन्तर्वार्तामा भनेका छन्, ‘म ढुक्कसँग भन्नसक्छु, उहान ल्याब पिपुल्स लिबरेशन आर्मीको कामसँग जोडिएको ठाउँ हो। ल्याबमा आर्मीसँग जोडिएको गतिविधि भइरहेको थियो। यद्यपि उनीहरूले यसलाई नागरिकसँग जोडिएको रिसर्च सेन्टर बताउँदै आएका छन्।’

पोम्पियोले कोरोनासँग सम्बन्धित जानकारी चीनले उपलब्ध गराउन नचाहेको पनि बताए। ‘उनीहरूले विश्व स्वास्थ्य संगठनलाई पनि पुरै जानकारी दिएका छैनन्।’

अमेरिकी संक्रमक रोग विशेषज्ञ डा। एन्थोनी फाउचीले पनि कोरोना भाइरस उत्पत्ति कहाँबाट भयो भन्ने जानकारी सतप्रतिशत कसैलाई थाहा नभएको, त्यसैले यसलाई बाहिर ल्याउन जरुरी भएको बताएका छन्।

प्रकाशित मिति: : 2021-05-31 10:56:00

प्रतिकृया दिनुहोस्