बर्षाका कारण खेतमा धान कुहियो, लकडाउनको कारण देखाउदैं ब्यापारीले खरिद गरेनन्

वैकल्पिक सिंचाइ सुबिधा र बिद्धुत सेवामा आएको निरन्तरताका कारण कृषकहरुले मोरङका रतुवामाई नगरपालिकाका प्राय सबै वडाहरुमा सयौं बिगाह जमिनमा वर्खेधान लगाए। माघ महिनाको मध्य देखि फागुन महिनाको अन्तिम साता सम्म यो बालि लगाइएको थियो। यो धान बालि जेठको पहिलो सातादेखि पाक्न सुरु गर्दछ। तर वेला बर्षाका कारण धान खेतमै कुहिने अबस्थामा पुगेको मात्र छैन, बजारको पनि समस्या देखिएको छ।

मुख्य खाद्यान्न र नगदे बालिकारुपमा लगाइने यो बाली अहिले पाकेर खेत खेतमा पहेलपुर भएको छ। लगातारको वर्षाका कारण खेतमा पाकेको बाली भण्डारणमा यसपटक पनि समस्या देखिएको छ। अत्यधिक वर्षाका कारण धान खेतमै कुहीएर नष्ट हुने अवस्थामा पुगेको कृषक खेम अधिकारीले बताए । उनले भने, समयमा उत्पादन भएको धान कुनै पनि ब्यापारीले खरिद गर्न मानिरहेका छैनन्। लकडाउनलाई मुख्य कारण देखाउदै मिल सञ्चालकले धान लिन नमानेको भन्दै स्थानीय ब्यापारीहरु पन्छिने गरेको कृषकहरुको दुखेसो छ। मिलले धान लिन नमानेपछि हामीले कसरी धान उठाउो भनेर उल्टै किसानसंग ब्यापारीहरु प्रतिप्रश्न गर्दै पन्छिने गरेका छन्।

किसानहरुले आफ्ना पीडा रतुवामाईका नगर प्रमुख रविन राईलाई समेत जानकारी गराएका छन्। मेयर राईले मिलहरुको के समस्या रहेछ यथार्थ बुझेर किसानहरुलाई परेको समस्याको समाधानका लागि पहल गर्ने प्रतिवद्धता गरेका छन् ।

यसरी नै अझै केहि दिन धान काट्न सकिएन भने खेतमै धान कुहिने कृषक सन्तोष भट्टराईले बताए। ‘देशमा तिनतहका सरकार हुँदा पनि किसानका समस्या सधै जिउका त्यु हुनु दुर्भाग्य हो, कृषक भट्टराईले भने।

अहिले उत्पादन भएको धान बिक्री गरेर बर्खेधान लगाउन कृषकले खर्चको जोहो गर्ने गरेको उनले बताए। धान भण्डारण र बिक्रीमै समस्या देखिपछि अधिकांश किसान निराश भएका छन्। खुला सिमानाको फाइदा उठाउदै ठुला ब्यापारीहरुले सस्तो मुल्यमा अबैधरुपमा भारतबाट प्रसस्त धान तथा चामल भित्र्याउने गरेका कारणपनि यहाँ उत्पादित धानले उचित मुल्य नपाएको स्थानीय किसानको गुनासो छ। त्यसो त धानले समर्थन मुल्य नै पाएको छैन्।

प्रकाशित मिति: : 2021-05-31 18:11:00

प्रतिकृया दिनुहोस्