'छ महिना बन्द भए पनि आफ्नै कमाइले खर्च पुग्छ'

सेतोपाटी

काठमाडौँ

सुनिता सिटौला

निषेधाज्ञा अगाडि शर्मिला गुरागाईंका हात खाली हुन्थेनन्। बिहानदेखि बेलुकीसम्म लुगा सिलाउने मेसिनमा खुट्खुट् पार्ने खुट्टाले पनि आराम पाउँथेनन्। अचेल उनी यो सबै 'मिस' गरिरहेकी छन्।

कहिलेकाहीँ आएर टेलर सफा गर्छिन्। तारकेश्वरको वडा-९ कार्यालय नजिकै उनले सात वर्षअघि बिएन्डसी प्रशिक्षण केन्द्र खोलेकी हुन्। त्यसयता उनले यसैबाट घर, छोराछोरीको पढाई खर्च धानिरहेकी छिन्। श्रीमानको न्यूरोडमा जुत्ता पसल छ। निषेधाज्ञामा दुवैको व्यवसाय बन्द भए पनि घर चलाउन हम्मे परेको छैन।

शर्मिला भन्छिन्, 'बचत गरेकाले केही महिना बन्द हुँदा खान समस्या हुँदैन। आम्दानी धेरै भयो भनेर अनावश्यक खर्च गर्ने बानी छैन मेरो। बचाउन सकेको भएर अझै छ महिना बन्द भए पनि आफ्नै कमाइले घर खर्च गर्न पुग्छ। श्रीमानको आश गर्नु पर्दैन।'

टेलरबाट दैनिक तीनदेखि पाँच हजार कमाउँथिन् उनी। १८ हजारमा तीन कोठा भाडा लिएकी छन् जसमा लुगा सिलाउनुका साथै कुर्ता-सुरूवाल, साडी र केही कस्मेटिक सामान बेच्छिन्। बाँकी कोठामा सिलाइ सिकाउँछिन्।

अरू बेला दैनिक ११ घन्टा काम गर्ने उनलाई अहिले घरै बस्दा पट्यार लागेको छ। घरमै सिलाइ मेसिन भएकाले चिनेजानका मान्छेको अलिअलि कपडा सिलाइदिन्छिन्।

'चिनजानकाले लुगा सिलाइदिनु भन्छन्। नाप दिनेको सिलाइदिन्छु, लिनुपर्ने चाहिँ सिलाउँदिनँ,' उनले भनिन्।

प्रकाशित मिति: : 2021-06-03 09:22:00

प्रतिकृया दिनुहोस्