टाइगर श्राेफ र दिशा पटानीविरूद्ध प्रहरीमा उजुरी

Photo : Hindustantimes.com
Photo : Hindustantimes.com

बलिउड अभिनेता टाइगर श्राेफ र अभिनेत्री दिशा पटानीविरूद्ध मुम्बई प्रहरीले प्रथम सूचना रिपोर्ट (एफआईआर) दर्ता गरेको छ।

कोरोना महामारीको समयमा सरकारी नियम उल्लंघन गरेको आरोपमा उनीहरू विरूद्ध मुम्बई प्रहरीले उजुरी दर्ता गरेको समाचार एजेन्सी एएनआईले जनाएको छ।

मुम्बईमा कोरोना संक्रमणको संख्या भयावह भएसँगै पूर्ण बन्दाबन्दी गरिएको छ। दिउँसो दुई बजेपछि बिना अनुमति हिँड्डुल गर्न प्रतिबन्ध गरेको मुम्बई प्रहरीका एक अधिकारीले बताए। तर, अभिनेता टाइगर र अभिनेत्री दिशा बेलुकीपख बान्द्रा बसपार्क नजिकै डुल्दै गर्दा प्रहरीले भेटेपछि उनीहरू कानूनको फन्दामा परेका हुन्।

बन्दाबन्दीको समयमा घुमफिर गर्न सडकमा उत्रिएका उनीहरूले प्रहरी सोधखोजका क्रममा सरकारी नियम उल्लंघन गर्नुको कुनै पनि कारण बताउन सकेनन्।

मुम्बई प्रहरीका अनुसार टाइगर र दिशाविरूद्ध भारतीय दण्ड संहिताको धारा- १८८ अन्तर्गत उजुरी दर्ता गरिएको छ।

महाराष्ट्र सरकारले जारी गरेको निर्देशनमा राज्यभर आवश्यक पसल बिहान ७ बजेदेखि दिउँसो २ बजेसम्म मात्रै खोल्न अनुमति दिएको छ। राज्यमा जूनको अन्तिमसम्म बन्दाबन्दी गर्ने निर्णय भएको छ।

प्रकाशित मिति: : 2021-06-03 10:16:00

प्रतिकृया दिनुहोस्