रुकुम (पूर्व) मा कोरोना भाइरस सङ्क्रमण नियन्त्रण तथा व्यवस्थापनका लागि नक्साङ्कन र अल्पकालीन योजना निर्माण गरिएको छ।
जिल्लामा कोरोना भाइरस सङ्क्रमणलाई नियन्त्रण गर्न समस्या भएपछि नक्साङ्कन गर्नुका साथै योजना निर्माण गरिएको हो। नक्साङ्कन र योजना निर्माणका लागि यही जेठ १६ गते आशा परियोजनाका सामाजिक परिचालन अधिकृत केशवकुमार बिसीको संयोजकत्वमा ११ सदस्यीय कार्यदल गठन गरिएको थियो।
कार्यदलमा स्वास्थ्यकर्मीसहित विभिन्न राजनीतिक दल, नेपाल शिक्षक महासङ्घ र कर्मचारी मिलान केन्द्रका प्रतिनिधि, पत्रकार, समाजसेवी तथा योजनाकार रहेका थिए। सो समितिले योजना निर्माण गरी जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र (डिसीसीएमसीमा) पेश गरेको छ।
कार्यदलले तीन वटै गाउँपलिकामा पुगेर त्यहाँका स्थानीय तह र वडाका जनप्रतिनिधि, शिक्षक, स्वास्थ्यकर्मी, सर्वसाधारण नागरिकलगायत सरोकारवालासँगको छलफल, अन्तरक्रिया र स्थालगत अध्ययनपछि प्राप्त तथ्याङ्कको आधारमा कोभिड—१९ नियन्त्रण नक्साङ्कन र अल्पकालीन योजना निर्माण गरेको कार्यादलका संयोजक विसीले बताए। नक्साङ्कन तथा योजनामा स्थानीय तह, डिसीसीएमसी र सरोकारवाला निकायले कोभिड नियन्त्रणमा गर्ने कामहरुको बारेमा उल्लेख गरिएको छ।
योजना निर्माण गरी निष्कर्ष र सल्लाह सुझावसहित डिसीसीएमसीमा पेश गरिएको संयोजक विसीले बताउनुभयो । डिसीसीएमसीको बैठकले कोभिड १९ नियन्त्रण नक्साङ्कन तथा प्रतिकार्य योजनालाई अनुमोदन गरेर कार्यान्वयनमा पनि लगिसकेको डिसीसीएमसीका संयोजकसमेत रहनुभएका प्रमुख जिल्ला अधिकारी राजकुमार राईले बताए।
यस्तै रुकुम (पूर्व) मा अक्सिजन प्लान्ट खरिदको लागि सङ्घीय सरकारसँग बजेटको माग गरिएको छ। जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रको बैठकबाटै जिल्लामा अक्सिजन प्लान्ट खरिदको लागि सरकारसँग बजेट माग गरी पठाइएको हो।
अक्सिजन प्लान्ट खरिदका लागि अर्थ मन्त्रालयमा रु २ करोड ५० लाख बजेट माग गरी पठाइएको प्रजिअ राईले बताए। यस्तै अब जिल्लाको ३१ वटै वडामा कोरोना भाइरस सङ्क्रमण परीक्षणको दायरालाई बढाउने निर्णय पनि डिसीसीएमसीको बैठकले गरेको छ।
रुकुम (पूर्व) मा कोरोना भाइरस सङ्क्रमण समुदायस्तरमा फैलिसकेकाले यसलाई नियन्त्रण गर्न ३१ वटै वडामा तीव्रगतिमा परीक्षणको दायरा बढाउने प्रमुख जिल्ला अधिकारी राईको भनाइ छ। यसको सहजीकरण जिल्ला समन्वय समितिका प्रमुख गजेन्द्र बहादुर ओलीले गर्नेछन्। उनकै नेतृत्वमा वडास्तरमा कोरोना परीक्षण गरिने छ।
यस्तै सबै वडामा वडाध्यक्षको संयोजकत्वमा कोभिड—१९ नियन्त्रण निगरानी समिति बनाउने निर्णय पनि डिसीसीएमसीले गरेको प्रमुख जिल्लाका अधिकारी राईले बताए।
उनका अनुसार उक्त समितिमा वडा समस्यहरु, महिला स्वास्थ्य स्वयंसेविका, सम्बन्धित टोलका प्रधानाध्यापक, नजिकको प्रहरी, आमा समुहका प्रतिनिधिहरु रहनेछन्। रासस