पश्चिम प्रवेश गर्दै मनसून, भारी वर्षाको सम्भावना

फाइल तस्वीर
फाइल तस्वीर

शुक्रबारदेखि नेपालको पूर्वी भूभाग प्रदेश नं १, प्रदेश नं २ र बाग्मती प्रदेशमा प्रवेश गरेको मनसुन आजदेखि गण्डकी प्रदेश तथा लुम्बिनी प्रदेशको पूर्वी भू–भागसम्म प्रवेश गरेको छ।

जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले अबको एक दुई दिनमा मनसून पश्चिम नेपालसम्म नै प्रवेश गर्ने जनाएको छ।

आगामी साता मनसून सक्रिय भई देशका धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा र थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको हुनाले महाशाखाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ।

नेपालमा सामान्यतया मनसून जुन १३ मा भित्रिने र अक्टोबर २ मा बाहिरिने गरेको छ। दक्षिण एसियाली जलवायु दृष्टिकोण मञ्चले आगामी मनसून आवधिमा नेपालका धेरैजसो भूभागमा सरदरभन्दा बढी वर्षा हुने आंकलन गरेको छ।

हाल देशको पूर्वी  र मध्य भूभागमा उत्तर पश्चिम बङ्गालको खाडी र आसपास बनेको न्यून चापीय क्षेत्रको प्रभाव तथा  पश्चिमी भूभागमा पश्चिमी वायु र स्थानीय वायुको मिश्रित प्रभाव रहेको छ। यसको कारण हाल देशभर आंशिकदेखि सामान्य बदली भई केही स्थानमा वर्षासमेत भईरहेको अवस्था महाशाखाले छ।

आज साँझ देशभर सामान्यदेखि पूर्ण बदली भई देशका धेरै स्थानहरुमा मेघगर्जन/चट्टयाङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। त्यस्तै प्रदेश नं १, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ।रासस

प्रकाशित मिति: : 2021-06-12 17:57:00

प्रतिकृया दिनुहोस्