सिद्धिचरण राजमार्गअन्तर्गत पर्ने साल्मे–सिस्नेरी पहिराको दिगो व्यवस्थापन गरिने भएको छ।
जिल्ला सदरमुकाम सल्लेरीलाई जोड्ने एक मात्र सडक खण्डमा पर्ने साल्मे–सिस्नेरीमा पहिरो खस्दा बारम्बार सडक अवरुद्ध हुने गरेको छ।
जिल्लाको सोलु दूधकुण्ड नगरपालिका–११ तिङ्लामा पर्ने पहलमान भिर र सिस्नेरी पहिराका कारण हिउँद बर्खा जहिल्यै पनि सडक अवरद्ध हुँदा यात्रुले सास्ती खेप्दै आएका छन्।
सडक निर्माण गरेको करीब १० वर्ष पूरा भएको छ। शुरुआतीदेखि नै यस क्षेत्रमा पहिरो खस्ने गरेको भएपनि दिगो व्यवस्थापनमा ध्यान नपुगेको स्थानीयवासीले गुनासो गर्दै आएका छन्।
माथिबाट ठूलो पहिरो खस्दा सोही ठाउँमा पटकपटक सवारी दुर्घटनामा पर्नुका साथै यात्रु समेत घाइते भएका छन्। सदरमुकाम जोड्ने यस सडकको अवस्थामा सुधार नआउँदा यहाँका नागरिकले आक्रोश समेत व्यक्त गर्दै आएका छन्।
विभिन्न सञ्चार माध्यमले जिल्लाका जनप्रतिनिधिदेखि सम्बन्धित निकायले समेत ध्यान दिनुपर्ने विषयमा केन्द्रित सामग्री प्रकाशन, प्रशारण गर्दै आएका थिए।
सोही प्रभावस्वरुप यस वर्ष भने ‘जिओ टेक्निकल विधि’बाट चिरालो स्तरीकरण गरिने भएको छ। यसका लागि आवश्यक प्रक्रिया अगाडि बढिसकेको सडक डिभिजन कार्यालय हर्कपुर ओखलढुङ्गाका प्रमुख अरुणकुमार कर्णले बताए।
उनका अनुसार पहिराको दिगो व्यवस्थापनका लागि प्रक्रिया अघि बढिसकेको छ। केही महिनाअघि दुई प्राविधिकसहितको टोली स्थलगत निरीक्षणमा समेत आएर फर्किएको उनको भनाइ छ।
विगत वर्षहरुमा बर्खा लागेसँगै जिल्लामा सञ्चालित जलविद्युत् आयोजना र सोलु दूधकुण्ड नगरपालिकाको स्काभेटर तयारी अवस्थामा राखेर सडक नियमित सञ्चालन गर्ने गरेको ट्राफिक प्रहरी प्रमुख कृष्ण कटवालको भनाइ छ। यसवर्ष पनि सोलु हाइड्रो पावर र नगरपालिकाको स्काभेटर तयारी अवस्थामा राखिएको उनको भनाइ छ।
यात्राको क्रममा नागरिकको ज्यान जोखिममा रहने भएकाले पहिराको दिगो व्यवस्थापनका लागि पहल गरेको सोलुखुम्बुका निवर्तमान सङ्घीय सांसद हेमकुमार राई (शुरवीर)ले बताए। कोरोनाका कारण वैशाख पहिलो साताबाट काम शुरु हुनु पर्ने भएपनि केही समयपछि धकेलिएको उनको भनाइ छ।
अहिले डिपिआर निर्माणको प्रक्रिया अगाडि बढेकाले पहिरोको व्यवस्थापन हुनेमा ढुक्क रहन उनले आग्रह गरे। अर्को वर्षसम्म पहिराको दिगो व्यवस्थापनको काम सकिने भन्दै अब नागरिकको जोखिमपूर्ण यात्राको बाध्यता हट्ने विश्वास व्यक्त गरे। रासस