शपिङ कम्प्लेक्स निर्माणको काम अलपत्र

Symbolic photo
Symbolic photo

सप्तरीको सदरमुकाम राजविराजस्थित हटिया बजार व्यवस्थित गर्न निर्माण शुरु गरिएको शपिङ कम्पलेक्सको काम अहिले अलपत्र अवस्थामा रहेको पाइएको छ। 

राजविराज बजारलाई व्यवस्थित गर्नका लागि शुरु गरिएको दुईतले शपिङ कम्प्लेक्स निर्माण गर्न बजेट अभाव रहेको भन्दै करीब पाँच/छ महिनादेखि काम बन्द रहेको राजविराज नगरपालिकाका प्रमुख शम्भुप्रसाद यादवले बताए। 

उनले भने, 'शहरी विकास मन्त्रालयले राजविराजस्थित हटियामा निर्माण भइरहेको  शपिङ कम्प्लेक्स निर्माणका लागि बजेट नदिएको भन्दै बाध्य भएर अहिले सबै काम ठप्प गरिएपछि  कामकाज अलपत्र अवस्थामा छ।' 

मन्त्रालायबाट बजेट दिएपछि पुनर्निर्माण गर्ने भन्दै अहिले कोरोना महामारीको कारण देखाउँदै निर्माण कम्पनीले समेत भवन निर्माण अवरुद्ध गरेपछि कामकाज ठप्प रहेको उनको भनाइ छ। दुई महिनादेखि बन्दाबन्दीका कारण अवरुद्ध रहेको हटिया बजार व्यवस्थित गर्ने निर्माणको काम अहिलेसम्म शुरु गरिएको छैन।

नगरपालिकाले वडा नं ७ हटियाको एक बिघा ११ कट्ठा जग्गामा सघन शहरी विकास कार्यक्रमअन्तर्गत पाएको कूल रु ३५ करोडअन्तर्गत रु १९ करोडको लागतमा त्यसलाई व्यवस्थित गर्न दुईतले शपिङ कम्प्लेक्स निर्माणको काम शुरु गरेको थियो। अहिले शहरी विकास मन्त्रालयले समयमा बजेट नदिएकाले अभावमा यहाँको निर्माण अलपत्र अवस्थामा रहेको नगरवासीको भनाइ छ। 

राजविराज हटिया व्यवस्थित गर्नका लागि कूल ३०८ कोठा रहने गरी दुईतले भवन निर्माण तीन वर्षभित्र गर्नुपर्ने थियो । दुई वर्ष बिते पनि निर्माण कार्य अहिलेसम्म सकिएको छैन। त्यसअनुसार भवन निर्माण डिभिजन कार्यालयमार्फत रसुवा रोशन जेभी निर्माण कम्पनीसँग सम्झौता भई भवन निर्माण कार्य थालिएको थियो। रासस 

प्रकाशित मिति: : 2021-06-14 12:09:00

प्रतिकृया दिनुहोस्