पोखरीमा नुहाउन गएकी एक बालिकाको डुबेर मृत्यु भएको छ।
सप्तरी जिल्लाको महादेवा गाउँपालि–२ बस्ने अनील मण्डलकी छोरी पाँच वर्षीया अपेक्षाकुमारी मण्डलको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।
घर नजिकै रहेको पोखरीमा आपmन्तसँग नुहाउन गएकी बालिका पोखरीको डिलमा बसेर नुहाइरहेकी थिइन्।
डलबा चिप्लिएर पोखरीमा डुब्दा बेहोस् भएकी बालिकालाई तत्काल उपचारको लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराज ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले बताए। मृतक बालिकाको राजविराजस्थित अस्पतालमा पोष्टमार्टम भएको छ।
यसैबीच सवारी दुर्घटनामा घाइते भएका सप्तरीको खडक नगरपालिका–८ ढोलबजा बस्ने बौवालाल चौधरीको छोरा २२ वर्षीय अनिल चौधरीको मृत्यु भएको छ।
सप्तरीको खडक नगरपालिका–८ पहाडे भदैया चोकस्थित बोदेबर्साईन–बिसनपुर भित्री सडक खण्डमा सोमबार राति १० बजे भएको दुर्घटनामा घाइते मोटरसाइकल चालक चौधरीको मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ।
बिसनपुर चोकबाट बोदेबर्साईन बजारतर्फ जाँदै गरेको ‘अन टेस्ट’ मोटरसाइकललाई स १ त २७२६ नम्बरको ट्याक्टरले ठक्कर दिँदा चौधरी घाइते भएका थिए।
घाइते चौधरीलाई ईलाका प्रहरी कार्यालय कडरबोना सप्तरीको मोबाईल गाडीमा राखी उपचारका लागि रामप्रसाद शारदा उमाप्रसाद मुरारका अस्पताल लहान पठाइएको थियो।
ठक्कर दिने ट्याक्टरलाई प्रहरी नियन्त्रणमा राखी थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय कडरबोनाका प्रहरी निरीक्षक बिरेन्द्र पासवानले बताए। रासस