किसानलाई हाते ट्रयाक्टर वितरण

टोखा नगरपालिकाले नगरभित्रका किसानलाई २२ थान हाते ट्रयाक्टर वितरण गरेको छ। 

काठमाडौँको उत्तरी क्षेत्रमा रहेको टोखाले नगरपालिकाभित्र कृषि क्षेत्रको विकास र विस्तारका लागि किसानलाई इन्धनबाट सञ्चालन हुने २२ थान हाते ट्रयाक्टर वितरण गरेको हो। 

नगरपालिका कृषि शाखा प्रमुख सुमित्रा पाठकले किसानको सहजताका लागि ५० प्रतिशत अनुदानमा नगरपालिकाले हाते ट्रयाक्टर सहयोग गरेको राससलाई जानकारी दिए।

टोखाले बुधबार ११ थान र त्यसभन्दा पहिले ११ थान ट्रयाक्टर वितरण गरेको छ। वितरण गरिएका ट्रयाक्टर मध्ये वडा नं १ मा पाँच थान, वडा नं २ मा पाँच थान र वडा नं ३ मा एक थान रहेको छ। एउटा ट्रयाक्टर को मूल्य रु ४० हजार पर्ने नगरपालिकाले जनाएको छ।

यस्तै टोखाले किसानका लागि ५० प्रतिशत अनुदानमा धान तथा गहुँको बीउ, टनेल प्लाष्टिक, नमूना प्लाष्टिक घर, विषादीलगायतका कृषि सामग्री वितरण गरेको छ।

नगरपालिकाभित्रका व्यावसायिक किसानलाई भने निःशुल्क तरकारी तथा फलफूलका बीउबिजन वितरण गरिएको कृषि शाखा प्रमुख पाठकले बताए। 

टोखाले २५० कृषकका लागि कौसीखेती तालिमसमेत प्रदान गरेको छ। कौसीखेती तालिम प्राप्त गर्ने किसानलाई गमला, मल र बीउबिजन निःशुल्क वितरण गरेको छ। 

नगरपालिकाका उपप्रमुख ज्ञानमाया डङ्गोलले टोखाले कृषि क्षेत्रको विकास र विस्तारका लागि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत समेत काम गरिरहेको बताए। 

परियोजनाअन्तर्गत टोखाले तरकारी एवं च्याउखेती पकेटको कामलाई अगाडि बढाएको छ। उक्त परियोजना रु २४ लाखको रहेको छ।

नगरपालिकाले कृषि क्षेत्रको विकासका लागि आर्थिक वर्ष २०७७/०७८ मा नगरस्तरीय बजेटबाट रु ५२ लाखभन्दा बढी रकम विनियोजन गरेको थियो। रासस 

प्रकाशित मिति: : 2021-06-16 11:15:00

प्रतिकृया दिनुहोस्