नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले बाढीपहिरोपीडितको तत्काल उद्धार र राहत कार्य प्रभावकारी बनाउन सरकारसँग आग्रह गरेका छन्।
बाढीपहिरोले सिन्धुपाल्चोक, मनाङलगायत देशका विभिन्न भागहरुमा भएको धनजनको क्षतिप्रति दुःख व्यक्त गर्दै प्रचण्डले यस महाविपत्मा राहत र उद्धार कार्यमा आ–आफ्ना क्षेत्रबाट जुट्न पार्टीका नेता तथा कार्यकर्ताहरुलाई निर्देशन दिएका छन्।
बुधबार विज्ञप्ति जारी गर्दै प्रचण्डले हरेक वर्ष वर्षायाममा तराई मधेस डुब्ने र पहाडी भू–भागमा पहिरो जाने समस्याको दीर्घकालिन हलका लागि केन्द्र, प्रदेश र स्थानीय सरकारको ध्यानाकर्षण गराएका छन्।
‘बाढी–पहिरोले सिन्धुपाल्चोक, मनाङ लगायत देशका विभिन्न भागहरुमा धनजनको ठूलो क्षति भएको छ भने कोशी, नारायणी, सेती, कमला, तिनाउ, कर्णाली, महाकाली लगायतका नदीहरुमा पानीको बहाव उच्च भई बस्तीहरु डुब्ने खतरा पैदा भएको छ,’ विज्ञप्तिमा भनिएको छ, 'मौसमविद्हरुको पूर्वानुमानको ख्याल नगरी र विगतका प्राकृतिक प्रकोप न्यूनीकरण र रोकथामका उपायहरुको अनुभव समेतको वेवास्ता गर्ने सरकारी रबैयाका कारण धनजनको यति ठूलो क्षति भएको हो।'
प्रचण्डले बाढीपहिरोमा परी ज्यान गुमाएका परिवारलाई उचित क्षतिपूर्ति, बेपत्ताहरुको खोजी र घाइतेहरुको निःशुल्क स्वास्थ्योपचारका लागि अनुरोध समेत गरेका छन्।