बाढीले लघु जलविद्युत्सहित तीन घर बगायो

फाइल तस्वीर
फाइल तस्वीर

म्याग्दीको मालिका गाउँपालिका–२ रुममा बुधबार पहिरोले लघुजलविद्युत् परियोजनाको विद्युत् गृहसहित तीन वटा घर बगाएको छ। रुमका विभिन्न ठाउँमा करीब ३५ घर परिवार पहिराका कारण विस्थापित भएका छन्।

खहरेखोलामा रहेको २२ किलोवाट क्षमताको लघुजलविद्युत् परियोजनाको विद्युत् गृह पात्लेखहरे खोलाको बाढीले बगाएको वडा सदस्य समबहादुर विकले जानकारी दिए। विद्युत् गृहका साथै नहर र मुहानमा पनि बाढीले क्षति पु-याएको छ।

परियोजना बन्द हुँदा रुमका २५५ घरधुरी विद्युत् सुविधाबाट बञ्चित भएका छन्। गाउँपालिकाको केन्द्र दरबाङ र अन्य बस्ती जोड्ने सडक अवरुद्ध भएको छ।

विद्युत् अभावमा सञ्चार सुविधा पनि प्रभावित भएको छ। रुममा केन्द्रीय प्रशारण लाइनको विद्युत् विस्तारका लागि दुई वर्षअघि नै १०० केभीको ट्रान्सफर्मर जडान, पोल गाड्ने र तार तानिएपनि स्थानीयवासी उज्यालोका लागि लघुजलविद्युत् परियोजनामा नै निर्भर छन्।

पहिरोपछि आएको बाढीले पात्लेखहरे लघुजलविद्युत् परियोजनाका प्राविधिक बस्ने दुईतले घर बगाएको छ। बेलीमा खेमबहादुर विकको दुईतले घर र एक वटा गोरुसहित गोठ बगाएको छ।

रनबहादुर दर्जीको घर पहिराले पुरिएको छ। वडा कार्यालय पछाडिको पहिराले लुप्सीमा सात, बेलीमा तीन र हुन्नेपाखाकासहित वडाभर ३५ घरपरिवार विस्थापित भएको वडा सदस्य विकले बताए।

बेली र जेमका १०० घरधुरीले प्रयोग गर्ने अर्को लघुजलविद्युत् परियोजनाको विद्युत् गृह र नहरमा पनि बाढी पहिराले क्षति पुगेको छ। रासस

प्रकाशित मिति: : 2021-06-16 20:09:00

प्रतिकृया दिनुहोस्