बाढीपहिरो पीडितको उद्दार र राहतलाई प्रभावकारी बनाउन सरकारसँग विपक्षी गठबन्धनको माग

विपक्षी गठबन्धनले बाढी, पहिरो र डुवानबाट पीडित जनताको उद्दार रराहतलाई प्रभावकारी बनाउन सरकारसँग माग गरेको छ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमकल दाहाल प्रचण्ड, एमाले वरिष्ठ नेता माधवकुमार नेपाल, जनता समाजवादी पार्टी जसपाका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेलले संयुक्त वक्तव्य जारी गर्दै बाढी, पहिरो र डुबानबाट जनताको सुरक्षा गर्न, पीडित जनता र विस्थापितहरुका लागि तत्काल आवास, खाद्यान्न, मृतकका परिवारलाई सहयोग, घाइतेहरुको उपचार लगायतका उद्धार र राहतका काम प्रभावकारी रुपमा अगाडि बढाउन सरकारसंग माग गरेका हुन्।

गठबन्धनले राहत तथा उद्दारमा सहयोग गर्न पार्टी कार्यकर्ता र संघसंस्थाहरुलाई आह्वान समेत गरेका छन्।

'इमान्दारी, तदारुकता र पारदर्शीरुपमा राज्यका सम्बन्धित सबै निकाय तथा साधन र स्रोतको पूर्ण परिचालन गरी विपद् व्यवस्थापनको कार्यलाई अघि बढाउन आग्रह गर्दछौं। यस्तो गम्भीर प्राकृतिक विपत्तिको समयमा उद्धार र राहतका क्रियाकलापमा आ–आफ्ना स्थानबाट योगदान गरी पीडित जनसमुदायलाई सहयोग पु-याउन सम्पूर्ण पार्टी कार्यकर्ता तथा संघसंस्थाहरुलाई हामी हार्दिक आह्वान गर्दछौं', वक्तव्यमा भनिएको छ।

विपक्षी दलले सरकार प्राकृतिक विपत्तिको सामना गर्ने कुनै पूर्व तयारी नगरी गैर जिम्मेवार रहेको आरोप लगाएको छ।

बाढी र पहिरोमा परी ज्यान गुमाउनेहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै विपक्षी गठबन्धनले शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ।

प्रकाशित मिति: : 2021-06-17 14:49:00

प्रतिकृया दिनुहोस्