नेपाल सरकारका पूर्वसचिव विष्णुगोपाल रिसालको आज बिहान निधन भएको छ।
सतासी वर्षीय रिसालको ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचाररत अवस्थामा निमोनियाबाट निधन भएको परिवारले स्रोतले जनाएको छ।
विसं २०१५ मा अर्थ मन्त्रालयमा नायब सुब्बाबाट निजामती सेवामा प्रवेश गरेका उनले २०४९ मा लोेकसेवा आयोगको सचिवबाट उमेर हदबाट अनिवार्य अवकाश लिएका थिए।
उनका नेपाल भाषा र व्याकरण, भावनाको लहर, तीनधाम यात्रा, ज्ञानदर्पण, प्रश्न उपदेश, अमेरिकालाई हेर्दा, श्रीकृष्णलीला, नेपालको आर्थिक विकासलाई सम्झँदा, भावनात्मक अभिव्यक्ति, शिक्षा र राष्ट्रियता, प्रशासनिक गति र राजनीति, बालविनोद, वाग्मतीः काठमाडौँ सभ्यताको मुहान तथा तथ्यबोध र हाम्रो देशको चिनारी खण्डकाव्य (अङ्ग्रेजीमा पनि) लगायत करीब दुई दर्जन कृति प्रकाशित छन्।
उनका एक छोरा हुनुहुन्छ। उनको आजै परिवारको सहभागितामा पशुपतिमा अन्त्येष्टि गरिएको छ।रासस