जुम्लाकाे पातरासीमा पहिरो गयो, चार जना सम्पर्क विहिन

File photo
File photo

जुम्लाको पातारासी गाउँपालिकामा पहिरो जाँदा चार जना सम्पर्क विहिन भएका छन्। पातारासी गाउँपालिकाको लेखिढुंगा टुङटुङ लेखमा पहिरो जाँदा उनीहरु सम्पर्क विहिन भएका हुन। 

पहिरोमा परेकाहरुको खोजी कार्यका लागि आफन्तजन पहिरो गएको स्थानतर्फ गइरहेको प्रहरीले जनाएको छ। पाटन क्षेत्रमा फोन नलाग्ने भएकोले सम्पर्क समेत हुन सकेको छैन। 

घाइते मध्ये सुकबहादुर नेपाली र तारा नेपालीको अवस्था गम्भीर रहेको स्थानीयलाई उदृढ गर्दै जुम्लाका डिएसपी दानबहादुर थापाले जानकारी दिए। अरु दुई जना घाइतेको नाम भने खुलिसकेको छैन।

उनीहरु जडिबुटी कोर्न पाटन गएका थिए। निरन्तर वर्षा भएपछि गाउँ फर्कन थालेका उनीहरु पहिरोमा परेका हुन। 

बुधवार बिहान पहिरोमा परेका आफन्तजनले फोन सम्पर्क गरेर जानकारी गराएकाे सहायक प्रमुख जिल्ला अधिकारी नन्दराज चौलागाइँले बताए।

'अहिले सम्पर्कमा छैनन्। फोन सम्पर्क हुन नसक्दा उद्धार कार्य अघि बढाउन समस्या भइरहेको छ,' उनले भने, 'चार जना पहिरोमा परेको खबर पाउने वित्तिकै हेलिकप्टरबाट रेस्क्यु गर्ने तयारी भएको थियो।' 

उनका अनुसार अहिलेसम्म नाम नखुलेकाहरुको आफन्तसँग समेत सम्पर्क हुन सकेकाे छैन। सदरमुकाम भन्दा तीन दिन टाढा पर्ने भएकोले सम्पर्क हुन असहज भइरहेको छ।

घाइतेहरु कस्तो अवस्थामा छन्? कहाँ छन्? सम्पर्क हुन सकेको छैन। रेस्क्युको लागि सुर्खेतमा हेलिकप्टर तयारी अवस्थामा छ।

वर्षा भइरहेकोले आकाश खुलेको छैन। आकाश खुल्ने वित्तिकै उद्धार शुरु हुने स्थानीय प्रशासनले जनाएको छ।

घाइतेलाई नेपाली सेनाको हेलिकप्टरमार्फत उद्दार गर्ने तयारी गरिए पनि खराब मौसमका कारण हेलिकप्टर घटनास्थलमा पुग्न नसकेको जुम्लाका डिएसपी थापाले बताए। 

'घटनास्थलतर्फ प्रहरी परिचालन गरिएको तर, त्यहाँ पुग्न २ दिन लग्ने हुनाले हेलिकप्टरबाट उद्दार गर्नुको विकल्प छैन,' उनले भने।

प्रकाशित मिति: : 2021-06-17 20:22:00

प्रतिकृया दिनुहोस्