राष्ट्रपति विद्यादेवी भण्डारीले बाढी‚ पहिरो र डुबानबाट प्रभावितको खोजी तथा उद्धार, विपद्पश्चात् गरिने राहत, पुनःस्थापना र पुनर्निर्माणका कामका साथै जोखिम न्यूनीकरणका लागि गरिनुपर्ने पूर्वतयारीको काममा सरकारले विशेष ध्यान पुर्याउनु पर्ने बताएकी छन्।
मनसुनको शुरुआत्सँगै भएको वर्षाका कारण देशका विभिन्न भागमा बाढी‚ पहिरो र डुबानबाट पुग्न गएको क्षति तथा नेपाल सरकारद्वारा भइरहेका विपद् प्रतिकार्यबारे शुक्रबार साँझ गृह मन्त्रालय‚ राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र सुरक्षा निकायका प्रमुखबाट जानकारी लिँदै राष्ट्रपति भण्डारीले उक्त कुरा बताएकी हुन्।
विकासका लागि भौतिक संरचना निर्माण गर्दा भूकम्प, बाढी, पहिरो, चट्याङ र डढेलो जस्ता प्राकृतिक जोखिमलाई ध्यान दिनुपर्नेमा उनले जोड दिइन्।
यस सन्दर्भमा गृह मन्त्रालयलाई सम्बन्धित अन्य मन्त्रालय र निकायसँग समन्वय गरी कार्य गर्न उनले सुझाव दिइन्। विपद्को समयमा नागरिकको जीउधन सुरक्षा गर्न तथा कठिनाइमा परेका नागरिकका लागि राहत एवं उद्धारका कार्यक्रमलाई प्रभावकारी बनाउनु सरकारको पहिलो कर्तव्य रहेको पनि राष्ट्रपतिले उल्लेख गरिन्।