भारत-पाकिस्तान ‘युद्धबिराम’ गराइदिएर खाडी छिरेका ट्रम्पले साउदी अरबलाई लगभग १४२ अर्ब डलर बराबरको हतियार बेच्ने सम्झौता गरे।
योसँगै उनले साउदीबाट खर्बौं डलर लगानी भित्र्याउने बाटो पनि खोलेका छन्।
ट्रम्प एकातिर संसारभरि चलिरहेका युद्धहरू रोकेर आफू ‘शान्तिप्रिय नेता’ बन्ने महत्वाकांक्षामा छन् भने अर्कोतिर हतियारको ब्यापार पनि गरिरहेका छन्।
ट्रम्पले ‘ब्यापार’ बन्द गर्ने चेतावनी दिँदै युद्ध लडिरहेका देशहरूलाई युद्धबिरामका लागि बाध्य पारिरहेका छन्।
भर्खरै सुरु हुन लागेको भारत-पाकिस्तान युद्ध रोक्न पनि उनले ‘ब्यापार रोकिदिने’ भनेर धम्की दिएका थिए। त्यसपछि दुबै देश युद्धबिरामका लागि सहमत भए।
यद्यपि भारतीय प्रधानमन्त्रीले ट्रम्पको भूमिकाबारे मुख खोलेका छैनन्। बरु युद्ध बिरामका लागि पाकिस्तान नै हारगुहार गरेको भारतको आरोप छ।
तर ट्रम्प भने निरन्तर त्यही भनिरहेका छन्। आफैमा तनावपूर्ण रहेका खाडीका देशहरूमा अहिले ट्रम्पले त्यही युद्ध र ब्यापारको कुरा गरिरहेका छन्।
रुस र युक्रेनलाई पनि उनले ब्यापारकै चेतावनी दिए। हालैमात्र उनले रुस र युक्रेनसँग खर्बाैं डलर बराबर खनिज ब्यापार सम्झौता गरेका छन्। र रुस युक्रेन अब विस्तारै वार्तामा बस्न खाेजिरहेका छन्। यसअघि उनले इजरायल अनि हमासलाई पनि युद्ध राेक्न चेतावनी दिइसकेका छन्।
कतिपय अमेरिकी राष्ट्रपतिले चलाउँदै आएको परम्परालाई तोड्दै ट्रम्प यतिबेला साउदी, कतार र यूएईको भ्रमणमा निस्केका छन्। यसअघिको कार्यकालमा पनि ट्रम्पले पहिलो विदेश भ्रमण साउदीबाटै गरेका थिए।
तेल र खनिजका धनी खाडीका यी राष्ट्रहरू भने आफैमा शान्त छैनन्। यस्तोमा ट्रम्पले खाडीका देश घुमेर आफू शान्तिवादी नेता भएको देखाउन चाहन्छन्।
अमेरिकाले संसारभरका जति पनि बस्तु किन्नसक्छ त्यत्तिकै हतियार पनि बेचिरहेको छ। किन्नसक्ने उसको आर्थिक शक्तिका सामु अहिले संसारका हरेक देश नतमस्तक छन्।
यही भ्रमणमै ट्रम्पले साउदी अरबसँग लगभग ६ सय अर्ब डलर बराबरको ब्यापार सम्झौता गरेका छन्। त्यसमा लगभग १४२ अर्ब डलर बराबरको हतियार अमेरिकाले साउदीलाई बेच्नेछ। अमेरिकाले यसलाई ‘इतिहासकै सबैभन्दा ठूलो रक्षा सम्झौता’ भनेको छ।
यद्यपि साउदी आफै युद्धमा छैन। तर उसले विभिन्न देशका लागि युद्धबिराम गराउन र समस्या समधानका लागि मध्यस्थताको भूमिका निभाउँदै आएको छ।
यसअघि अमेरिकाले रुस र युक्रेनका प्रतिनिधिहरूसँग साउदीमै वार्ता गरेका थिए।