सुजिताकी आमाको चित्कार- 'छोरीका हत्यारालाई नछाड्नु '

Breaknlinks
Breaknlinks

‘म अपहरणमा परेकी छु, टाउकोमा हिर्काएका छन्, आँखामा एसिड छर्केका छन्, पट्टी लगाएका छन्। कहाँ ल्याएका छन्, केही थाहा छैन। मलाई बचाउनुहोस्।’

असार ११ गते बिहान साथीको घर जान भनेर निस्किएकी राप्ती नगरपालिका–३ कि २२ वर्षीय सुजिता भण्डारीले फोनमार्फत् दिदि कवितालाई भनेकी थिइन्।

सोही सूचनाका आधारमा परिवारले सुजिता अपहरणमा परेको भन्दै प्रहरीमा उजुरी दियो। प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोको टोलीले घटनाको अनुसन्धान जारी राखे पनि सुजिताको अवस्थाबारे कुनै जानकारी पत्ता लागेको थिएन।


अपहरणमा परेकाे भनिएकी सुजिता भण्डारी मृत फेला परिन्

अन्ततः हराएको १० दिनपछि हिजाे (आइतबार) साँझ राप्तीकै ब्रम्हस्थानी सामुदायिक वनमा सुजिताको शव भेटिएको छ।

च्याउ टिप्न गएका स्थानीयले जंगलमा गलेको अवस्थामा शव भेटेको खबर गरेपछि प्रहरीकाे टाेली घटनास्थलमा पुगेकाे चितवन प्रहरी प्रमुख एसएसपी ओम अधिकारीले जानकारी दिए।

घटनास्थल नजिकै धानमा हाल्ने विषादीको बट्टासमेत भेटिएको प्रहरीले जनाएको छ। झोला र विषादीको सम्बन्धका बारेमा अहिले अनुसन्धान भैरहेको प्रहरीले जानकारी दिएको छ।

स्थानीयले घटनाकाे छानबिन गर्न माग गर्दै पूर्व–पश्चिम राजमार्गसमेत अवरुद्ध गरेका छन्। अपहरणमा परेको थाहा पाउँदा पनि सुजिताको सकुशल उद्धार गर्न नसकेको भन्दै स्थानीयले चितवन प्रहरी प्रशासनविरुद्ध नै नाराबाजी समेत गरेका छन्।

प्रहरीले शव उठाएर पोष्टमाटमको लागि लैजान लाग्दा स्थानीयले आक्रोशित हुँदै २४ घन्टाभित्र दोषीलाई कानूनी कारबाहीको ग्यारेन्टी नगरे शव उठ्न नदिने बताउँदै आएका छन्।

सुजिताकी आमा अम्बिका भण्डारीले प्रहरीलाई छोरी हराएको खबर समयमै गरे पनि प्रहरीले बचाउन नसकेको गुनासाे गरेकी छन्।

‘प्रहरीले छोरीलाई खोज्नुको साटो सधैँ आउँदै हामीलाई नै छोरी लुकाएको भन्याे, हामीले हाम्रो छोरी कहाँ लुकाउनू? छोरीले बचाउनू भनी गुहार गर्दा पनि कसैले बचाउन सकेनन्’, अम्बिकाले भनिन्।

उनले थप्दै अनुराेध गरिन्, ‘फोटो खिच्नमात्र नआउनुहोस्, जसरी हुन्छ चाँडो अपराधी पत्ता लगाइदिनुस् !’

घटनाबारे भने सुजिताको शव भेटिएसँगै थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: : 2021-07-05 18:15:00

प्रतिकृया दिनुहोस्