धर्मको व्यावहारिक अर्थ के हो ?

लोकान्तर

काठमाडाैं

धर्मका १० लक्षण हुन्छन्, जसमा धृति, क्षमा, शम, अस्तेय, शौच, इन्द्रियनिग्रह, विद्या, बुद्धि, सत्य र अक्रोध पर्छन् । यी सामान्य धर्म हुन् ।

सामान्य धर्म सार्वभौम हुन्छन् । हर समय संसारका हर मानिसमा हुन्छ, हुनुपर्छ । विशेष धर्म भने व्यक्तिपिच्छे फरक हुन्छ, जुन देश, काल र अवस्थामा भर पर्छ ।

धर्मको अर्थ धारण गर्नु हो । जस्तो व्यवहारले जीवन र जगत धारण गर्छ र जुन कामले तीप्रति इमान्दार हुन सकिन्छ, त्यही नै धर्म हो । यसलाई तपाईं स्वकर्म भन्न पनि सक्नुहुन्छ, स्वधर्म भन्न पनि सक्नुहुन्छ । यीमध्ये यहाँ धृतिबारे केही प्रकाश पार्ने प्रयास गरिएको छ ।

धृतिका धेरै अर्थ छन् । तिनमा एक धारण गर्नु हो । आफूलाई धारण गर्न त्यसका लागि चाहिने चिजको पनि धारण गर्नुपर्ने हुन्छ । यसमा आफ्नालाई धारण गर्नुुपर्ने क्रम समेत स्वतः जोडिएको हुन्छ । आफ्नामा घरपरिवार, इष्टमित्र तथा नातागोता मात्र पर्दैनन् । आफूलाई जन्मदेखि मृत्युपर्यन्त सहयोग पुर्‍याउने सबै पर्छन् । धारण गर्नु भन्नाले ती सबैलाई धारण गर्नु, तीप्रति इमान्दार हुनु भन्ने बुझाउँछ ।

धारण गर्नका लागि पहिले आफैंलाई हेर्नुपर्ने हुन्छ । आफू भनेको को हो ? हात, गोडा, आँखा, नाक, मुख, कान, पेट, टाउको वा अन्य अंग मात्र हो कि ? कुनै अमूर्त तत्व पनि छन् ? पहिले यसैलाई मनन गर्ने बानी बसाउनुपर्छ ।

बिस्तारै तपाईं शारीरिक अंग लगायत तिनलाई धारण गर्ने अमूर्त शक्ति समेत आफैं रहेछ भन्ने निष्कर्षमा पुग्नुहुन्छ ।

प्रकाशित मिति: : 2021-07-10 15:01:00

प्रतिकृया दिनुहोस्