बाँदर धपाउने ड्युटी

कालिका नगरपालिका–९ द्रब्यटारका १० वर्षीय विपन चेपाङको काम हिजोआज बाँदर धपाउने हो। उनी बिहान बाँदर लखेट्न गुलेली लिएर बस्छन्। मकै खान आउने बाँदरलाई गुलेली हानेर लखेट्छन्। एकैछिन आँखा छल्यो कि बाँदरले मकै खाइहाल्छ। 

‘कुरेर नबसे बाँदरले मकै खाइदिन्छ अनि हामीले खान पाउँदैन’, उनले भने, ‘बिहानै आएर साँझ परेपछि फर्कने हो।’

विपन मात्र होइन, यहाँका हरेक परिवारका एक जना बाँदर धपाउन खटिन्छन्। माथि स्याउला हालेर घाम छेक्न बनाएको टाँड प्रायः सबैका बारीमा भेटिन्छ। बाँदरलाई तर्साउन थोत्रा लुगाको पुत्ला बनाएर राखेका छन्। 

गुलेली वा थाल बजाएर बाँदर लखेट्नुपर्छ। नभए मकैजति बाँदरले खाइदिन्छ। मिहेनत गरेर लगाएको अन्न खाने बेला बाँदरले नष्ट गर्न लागेपछि किसान चिन्तित छन्। बाँदरबाट कसरी जोगाउने होला भन्ने पिरलो छ। चेपाङहरू मकै खाने आशमा बाली कुरेर बसेका छन्। अबको आधा वर्ष त्यसैले  परिवारको छाक टार्नुपर्छ। मकै घरमा भित्र्याउन पाइँदैन कि भन्ने चिन्ता छ। 

कतिपयले बाँदर लखेट्न कुकुर पालेका छन्। बिहान ६ बजेदेखि साँझसम्म बाँदर कुर्नुपर्छ। प्रायः अभिभावक काम गर्न जान्छन्। घरका बालबालिकाको काम बाँदर धपाउनु हो। बाँदर कुर्न परिवारमा पालो लगाउँछन्। 

प्रकाशित मिति: : 2021-07-11 10:47:00

प्रतिकृया दिनुहोस्