नवीन लामिछाने
लगातारको अविरल वर्षाले मर्स्याङ्दी नदीमा रहेको पुल उच्च जोखिममा परेको छ। जिल्लाको माथिल्लो मनाङ जोड्ने एकमात्र चामे झोलुङ्गे पुल जोखिममा परेको छ।
चामे गाउँपालिका–४ र ५ जोड्ने सो पुल मर्स्याङ्दी नदीमा आएको बाढीले धार काट्दै लगेपछि जोखिममा परेको सो गाउँपालिकाका सूचना अधिकारी लक्ष्मण गौलीले जानकारी दिए।
उनले भने, 'जिल्लाको चामे ४ र ५ जोड्ने झोलुङ्गे पुल उच्च जोखिममा रहेको छ। गत जेठ ३१ गतेदेखि परेको अविरल वर्षापछि मर्स्याङ्दी नदीमा बाढी आएको छ। नदीको वहाव अझै उस्तै छ, घटेको छैन। नदीमा आएको बाढीले धार काट्दै लगेको छ। यस कारणले पुलको एकतिरको भाग ढल्किएको छ। झोलङ्गे पुलसम्म पानी आएको र ढल्किएपछि स्थानीयवासीको आवतजावत रोकिएको छ।'
नदीमा आएको बाढीले यही असार ४ गते माथिल्लो मनाङ जोड्ने मोटरेवल पुलमासमेत असर पु-याएको थियो। अहिले पुलबाट आवातआवत बन्द छ। स्थानीयवासी यसपछि चामे झोलुङ्गे पुलबाट आवतआवत गर्दै आएका छन्। अहिले यो पुलमासमेत बाढीले क्षति पु-याएपछि माथिल्लो मनाङसँगको सम्बन्धविच्छेद हुने सम्भावना बढेको उनले बताए।
उनले भने, 'यो पुल नदीको बाढीले बगायो भने माथिल्लो मनाङसँगको सम्बन्धविच्छेद हुन्छ। ङिस्याङ गाउँपालिका–९ खाङसारस्थित विश्वकै अग्लो स्थानमा रहेको तिलिचो ताललगायतका पर्यटकीय क्षेत्रबाट सम्बन्ध टुट्नेहुन्छ।'
त्यस्तै नदीको बाढीले जिल्लाका दर्जनौँ पुल बगाएका छन्। जिल्लामा अविरल वर्षासँगै आएको बाढीपहिरोले करोडौँको भौतिक क्षति पु-याएपछि यतिवेला मनाङवासी पीडामा छन्।
मर्स्याङ्दी नदीलगायत अन्य सहायक खोलामा आएको बाढीले जिल्लामा घर, सडक, चैत्य, गुम्बा, पुललगायतका संरचनामा क्षति पुगेको छ। जिल्लाको चार स्थानीय तह नै बाढीपहिरोबाट पूर्णरुपमा प्रभावित भएको छ। नासोँ, चामे र ङिस्याङ गाउँपालिका बाढीपहिरोबाट क्षतिग्रस्त भएको छ, भने नार्पाभूमि गाउँपालिका पहिरोबाट प्रभावित बनेको छ।रासस