विश्वभरि किन सांसद र नेताहरू पठाउँदैछ भारतले?

पाकिस्तानमाथि आक्रमणका लागि सुरु भएको ‘अपरेशन सिन्दूर’ र आतंकवादविरुद्धको लडाईंमा अन्तर्राष्ट्रिय समर्थन जुटाउनका लागि भारतले कैयौं नेता र सांसदहरूलाई विभिन्न देशमा पठाउँदैछ। 

सत्तापक्षीय र विपक्षी पार्टीका नेता तथा सांसदहरूलाई समेत जिम्मेवारी दिएर भारतले ७ वटा प्रतिनिधि टोली विश्वका दर्जनौं देशमा पुगेर भारतप्रति समर्थन जुटाउनेछन्। 

भारतका संसदीय मामिलामन्त्री किरेन रिजिजूले प्रतिनिधिमण्डका नेतृत्व गर्ने नेताहरू र उनीहरू जाने देशहरूबारे जानकारी सार्वजनिक गरेका छन्। 

त्यसमा भारतीय कंग्रेसका नेता शशी थरुर र मुस्लिम समुदायका नेता असदुद्दीन ओवैसी पनि सामेल छन्। कंग्रेस भारतीय संसदको प्रमुख प्रतिपक्ष दल हो भने ओवैसी भारतका कट्टर मुस्लिमका एक सर्वोच्च नेता हुन्। उनी सांसद पनि हुन्। 

को कहाँ जाँदैछन्?

समूह १ को नेतृत्व बिजेपी सांसद बैजयन्त पाण्डाले गर्दैछन्। यसमा बिजेपीका सांसद निशिकान्त दुबे तथा सांसद ओवैसीलगायत पाँच जना छन्। उनीहरू साउदी अरब, कुवेत, बहराइन तथा अल्जेरिया जानेछन्। 

समूह २ को नेतृत् बिजेपीका सांसद रवि शंकर प्रसादले गर्नेछन्। त्यसमा शिवसेनाका प्रियङ्का चतुर्वेदीलगायत ६ जना अरु सांसद तथा नेताहरू छन्। उनीहरू बेलायत, फ्रान्स, जर्मनी, युरोपेली संघ, इटली, डेनमार्क पुग्नेछन्। 

समूह ३ को नेतृत्व जनता दल युनाइटेडका सांसद सञ्जयकुमार झँले गर्दैछन्। यसमा तृणमूल कांग्रेसका सांसद यूसुफ पठानसहित ७ जना हुनेछन्। उनीहरू इन्डोनेशिया, मलेशिया, दक्षिण कोरिया, जापान अनि सिङ्गापुर पुग्नेछन्। 

त्यस्तै शिव सेनाका सांसद श्रीकान्त सिन्देले नेतृत्व गर्ने समूह ४ मा बिजेपीका सांसद बाँसुरी स्वराजसहित ६ जना हुनेछन् र उनीहरू यूएई, लाइबेरिया, कङ्गो, सिएरालगायतका देश पुग्नेछन्। 

कंग्रेस सांसद शशी थरुरले समूह ५ को नेतृत्व गर्दैछन्। त्यसमा बिजेपीका सांसद तेजस्वी सूर्यासहित ७ जना हुनेछन्। उनीहरू अमेरिका, पनामा, गुयाना, ब्राजिल, कोलम्बियासहितका देशहरूमा जाँदैछन्। 

समूह ६ को नेतृत्व डिएमकेका सांसद कनिमोजी करुणानिधिले गर्दैछन्। त्यसमा सात जना अरु नेता तथा सांसदहरू हुन्छन्। र उनीहरू स्पेन, स्लोभेनिया, ग्रीसलगायतका देश पुग्नेछन्। 

सांसद सुप्रिया सुलेले नेतृत्व गर्ने समूह ७ मा सांसद अनुराग ठाकुरलगायत अरु ७ जना हुनेछन्। उनीहरू इजिप्ट, कतार, इथोपिया, तथा अफ्रिकाका कैयौ देश पुग्नेछन्। 

यसरी विभिन्न देशहरूमा पुग्ने सांसद तथा नेताहरूले ती भारतले पाकिस्तान र आतंकवादविरुद्ध सुरु गरेको युद्धको पक्षमा उनीहरूको समर्थन जुटाउनेछन्। त्यस्तै राष्ट्रसंघीय सुरक्षा परिषदमा रहेका देशहरूलाई पनि आतंकवादविरुद्ध भारतीय नीति सम्झाउनेछन्। 

प्रकाशित मिति: : 2025-05-18 09:29:00

प्रतिकृया दिनुहोस्