पुटिन र जेलेन्स्कीसँग वार्ता गर्दै ट्रम्प, होला युद्धबिराम?

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस र युक्रेनका राष्ट्रपतिसँग सिधै वार्ता गर्ने बताएका छन्। ट्रम्पका अनुसार सोमबार बिहान १० बजे उनले रुसका राष्ट्रपति भ्लादिमीर पुटिनसँग फोनमा कुराकानी गर्नेछन्। 

त्यसपछि उनले युक्रेनका राष्ट्रपति भ्लोदोमिर जेलेन्स्की र अरु युरोपेली नेताहरूसँग पनि कुराकानी गर्ने बताएका छन्। भर्खरै तीनवटा धनी खाडी राष्ट्रहरूको भ्रमण सकेर फर्किएका ट्रम्पले यसअघि नै आफू नै अघि नसरेसम्म रुस-युक्रेन युद्धबिराम सम्झौता नहुने बताएका थिए। 

‘यो सबै कुराकानीको एकमात्रै उद्देश्य भनेको त्यहाँ भइरहेको मानिसहरूको मृत्यु रोक्नु हो’ ट्रम्पले भनेका छन् ‘यसका साथै मैले ब्यापारका बारेमा पनि कुराकानी गर्नेछु।’

गत शुक्रबार रुस र युक्रेनका मन्त्रीहरूले इस्तानबुलमा वार्ता गरेका थिए। तर त्यहाँ कुनै पनि सहमति भेटिएन। युद्धबिरामका बारेमा कुनै सहमति नभए पनि दुबै राष्ट्रहरू कम्तीमा एक-एक हजार युद्ध बन्दीहरू रिहा गर्न सहमत भए। 

रुसका राष्ट्रपति पुटिनले आफैले युक्रेनसँग सिधा वार्ता गर्ने भन्दै स्थान र समय पनि तोकेका थिए। तर अन्तिम अवस्थामा उनी वार्तामा बसेनन् र जेलेन्स्की पनि गएनन्। 

प्रकाशित मिति: : 2025-05-18 06:51:00

प्रतिकृया दिनुहोस्