सधैँ शक्तिको केन्द्रमा रुपन्देही : जुनसुकै सरकार आए पनि कोही न कोही मन्त्री !

केन्द्रीय राजनीतिमा रूपन्देहीबाट प्रभावशाली नेताहरूको प्रतिनिधित्व छ।

नयाँ बन्ने हरेक सरकारमा रुपन्देहीका कुनै न कुनै नेता प्रभावशाली मन्त्री बन्ने गर्छन्। नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा पनि रुपन्देहीका प्रभावशाली कांग्रेस नेता बालकृष्ण खाँण गृहमन्त्री बनेका छन्। 

यहाँबाट एमालेका उपामहासचिवद्वय विष्णु पौडेल, घनश्याम भुसाल, कांग्रेस केन्द्रीय सदस्य खाँण, राप्रपाका वरिष्ठ नेता दीपक बोहोरा, जनता समाजवादी पार्टीका नेता सर्वेन्द्रनाथ शुक्ला, कांग्रेसकै भरतकुमार शाह, एमाले नेता छविलाल विश्वकर्मा, राधा ज्ञवाली लगायतले केन्द्रमा प्रतिनिधित्व गर्छन्। २०६२/०६३ को जनआन्दोलनपछि बनेका हरेक सरकार रुपन्देहीबाट मन्त्री बनेका छन्। 

जनआन्दोलनपछि तत्कालीन कांग्रेस सभापति गिरिजाप्रसाद कोइराला नेतृत्वको सरकारमा रूपन्देहीबाट एमालेका नेता छविलाल विश्वकर्मा कृषि तथा सहकारी मन्त्री बनेका थिए। उनी अहिले पनि रूपन्देही क्षेत्र नम्बर १ बाट पनि निर्वाचित सांसद हुन्। संविधान सभाको पहिलो निर्वाचनपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा एमालेका विष्णु पौडेल जलस्रोत मन्त्री बनेका थिए।

एमाले वरिष्ठ नेता माधवकुमार नेपाल नेतृत्वको सरकारमा रुपन्देहीका बालकृष्ण खाँण सिञ्चाइमन्त्री बने। त्यसपछि एमालेका तत्कालीन अध्यक्ष झलनाथ खनाल नेतृत्वको सरकारमा फेरि पौडेल रक्षामन्त्री भए। पौडेलसँगै रुपन्देहीबाट माओवादी नेता हकी कुल्ला खाँ राज्यमन्त्री बने। त्यस्तै एमाले नेता घनश्याम भुसाल विना विभागीय मन्त्री बने। खनालपछि तत्कालीन माओवादीका वरिष्ठ नेता रहेका डा. बाबुराम भट्टराई नेतृत्वको सरकारमा ओमप्रकाश यादव ‘गुञ्जारी’ मन्त्री बने। 

प्रकाशित मिति: : 2021-07-14 15:24:00

प्रतिकृया दिनुहोस्