बालुवाटार जग्गामा अर्बौंको भ्रष्टाचार, आरोपीलाई सबभन्दा धेरै धरौटी तीन करोड

१३३ अभियुक्त अदालतमा उपस्थित, कसलाई कति धरौटी?

सेतोपाटी

काठमाडौं

प्रधानमन्त्री निवास बालुवाटार वरिपरिको अर्बौं पर्ने सरकारी जग्गा व्यक्तिको नाममा पुर्‍याउने अभियोग लागेका १७५ मध्ये १३३ जना अदालतमा हाजिर भइसकेका छन्।

तीनैमध्ये एक पूर्वमन्त्री विजयकुमार गच्छदारलाई बुधबार विशेष अदालतले १० लाख धरौटीमा छोड्ने आदेश गरेको हो।

बालुवाटार प्रकरणका अभियुक्तमध्ये अहिलेसम्म उपस्थित हुन आएका तीन जनालाई मात्र थुनामा पठाएको छ। थुनामा पठाएका तिनै जना सर्वोच्च गएर धरौटीमा छुटिसकेका छन्।

अहिलेसम्म थुनामा रहेका भने बालुवाटारको जग्गा आफूलगायत व्यक्तिको नाममा पुर्‍याउन प्रमुख भूमिका खेलेका शोभाकान्त ढाकाल हुन्।

उनी पनि सर्वोच्च अदालत गए। उनलाई धरौटीमा छोड्ने कि थुनामा पठाउने भनेर न्यायाधीश ईश्वर खतिवडा र आनन्दमोहन भट्टराईको राय बाझियो। न्यायाधीश खतिवडाले तीन करोड धरौटी मागेर तारेखमा छोड्ने आदेश गरेका थिए भने न्यायाधीश भट्टराईले भने थुनामा पठाउनु पर्ने आदेश गरे।

उनको निवेदनमा अब तीन न्यायाधीशको इजलासले आदेश गर्न पर्ने हुन्छ। अहिले ढकाल डिल्लीबजार कारागारमा थुनामा रहेको विशेष अदालतले जनाएको छ। उनलाई अख्तियारले ३९ करोड २७ लाख ६८ हजारको भ्रष्टाचार मुद्दा लगाएको थियो। ढकालकी श्रीमती उमा ढकाललाई पनि अख्तियारले भ्रष्टाचार मुद्दा लगाएको थियो। उनलाई भने विशेषले दुई लाख धरौटीमा छोडेको छ।

प्रकाशित मिति: : 2021-07-15 17:18:00

प्रतिकृया दिनुहोस्