आर्थिक वर्षको अन्तिममा बाढीसरह पोखियो बजेट, एकैदिन २९ अर्बभन्दा बढी खर्च

लोकान्तर

काठमाडौँ

चालू आर्थिक वर्षको अन्तिममा सरकारले एकैदिन २९ अर्बभन्दा बढी बजेट खर्च गरेको छ । 

बुधवार मात्रै सरकारले २९ अर्बभन्दा बढी बजेट खर्च गरेको महालेखा नियन्त्रकको कार्यालयको तथ्यांकमा उल्लेख छ । 

विगतका वर्षहरूमा जस्तै यसवर्ष पनि सरकारले असार अन्तिममा ठूलो परिणाममा खर्च गरेको देखिएको हो ।

महालेखा नियन्त्रकको कार्यालयका प्रवक्ता एवं सह–महालेखा नियन्त्रक ज्ञानेन्द्र पौडेल विगतका वर्षहरूमा झैँ यसवर्ष पनि पछिल्ला दिनमा सरकारी खर्च बढेको बताउँछन् । 

लोकान्तरसँग उनले भने, ‘विविध कारणले गर्दा सरकारी खर्च बढेको देखिन्छ, हिजो एकैदिन २९ अर्बभन्दा बढी खर्च भएको छ ।’

उनका अनुसार, बिहीवार (आज) सरकारी खर्च भुक्तानी भएको छैन ।

‘आज हिसाब मिलानको काम गर्दैछौं, चालू आर्थिक वर्षका लागि खर्च गर्ने समय हिजो नै सकिएको हो,’ लोकान्तरसँग उनले भने ।

उनले हाल ९२ प्रतिशतभन्दा बढी रकम इलेक्ट्रोनिक्स माध्यमबाट भुक्तानी भएको बताए । 

उनले भने, ‘बाँकी करीब ८ प्रतिशत चेकको माध्यमबाट कारोबार गरिन्छ, त्यसको तथ्यांक संकलन भइसकेको छैन  ।’

अन्तिम दिनमा पूँजीगत (विकास बजेट) खर्चको बाढी 

सरकारले चालू आर्थिक वर्षको अन्तिम दिनहरूमा पूँजीगत (विकास बजेट) खर्चको बाढी नै लगाएको छ ।

महालेखा नियन्त्रकको कार्यालयका अनुसार चालू आर्थिक वर्ष २०७७/७८ को अन्तिम ५ दिनमा मात्र ३७ अर्ब ६७ करोड रुपैयाँ पूँजीगत खर्च भएको छ । 

प्रकाशित मिति: : 2021-07-15 17:41:00

प्रतिकृया दिनुहोस्