१७ लाखको कल्भर्ट सात दिनमा बन्यो, ९ दिनपछि भत्कियो

सधैं सुशासनका भाषण गरेर नथाक्ने उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागोले योजना सम्पन्न नगरिकन रकम निकासा गरिदिएको खुलासा भएको छ।

मोरङको उर्लाबारी–१ मेचेडाँगीमा निर्माण भएको कल्भर्ट निर्माण सम्पन्न नभई गत असार २४ गते आएको बाढीले भत्कायो। असार ७ गते सम्झौता भएर १५ गते निर्माण सम्पन्न भएको कल्भर्ट गुणस्तरहीन सामग्री प्रयोग गरेर बनाएको स्थानीयको भनाई छ।

मेचेडाँगीबाट १ नम्बर वडा कार्यालय जाने सडकको विकासे पैनीमा निर्माण भएको कल्भर्ट यति बेला दुबै तर्फको सडकसँग सम्पर्क बिहीन बनेको छ। उप मेयर लक्ष्मीदेबी भण्डारीले कल्भर्टको अनुगमन गरेर रकम निकासा रोक्ने प्रयास गरेपनि मेयर फागोसँग निकट निर्माण कम्पनी भएकोले निकासा नरोकिएको बताइएको छ।

मध्य वर्खायाममा कल्भर्ट निर्माण नगर्ने स्थानीय बासिन्दाको अनुरोधलाई बेवास्ता गर्दै नगरपालिकाले काम सुरु गरेको स्थानीय नरेन्द्र पौडेलले बताए। उनले भने–वर्खामास काम गर्न सकिन्न। छिनको छिनमा बाढी आउँछ। विगतमा पनि  बाढीले कल्भर्ट बगाएपछि नगरले यो वर्ष बिग्रेको कल्भर्ट निर्माण योजना भनेर कल्भर्ट निर्माणको  ठेक्का लगाएको हो।

कल्भर्ट निर्माण गर्दा ठेकदारले जमिन मुनि ४ फिट पनि आरसीसी नगरेको स्थानीयको भनाई छ। कल्भर्ट जमिनमाथि टक्रक्क राखिएको छ। दुई सुताका रड लगाएर कल्भर्टको पङ्खा जोडिएको छ। स्थानीयले भने, 'ठेकदारसँग हामीले राम्रो काम गरिदिनु भनेर याचना गर्‍यौं। तर, हामीलाई उल्टो थर्काए।'

कल्भर्ट १७ लाख ३५ हजार ६५९ रुपैयाँ ६२ पैसामा अग्नि एण्ड सन्स निर्माण सेवा प्रालि कन्काई ३ झापाले निर्माण गरेको हो। नगरको आयोजना बोर्डमा उल्लेख भए अनुसार २०७८ को असार ७ गते योजनाको सम्झौता भएको हो।  सात दिन अर्थात असार १५ गते योजना सम्पन्न भएको थियो। योजना सम्पन्न भएको ९ दिनपछि असार २४ गते राति आएको बाढीले  कल्भर्ट भत्काएको छ।कल्भर्टकाे दुबैतर्फको सडकको भाग बगेपछि अहिले सो सडक अवरुद्ध भएको छ।

सात दिनमा कल्भर्ट बनाए पनि निर्माण कम्पनीले नगरबाट पैसा लगेको नगर उप-प्रमुख लक्ष्मीदेवी भण्डारीले बताइन्। भण्डारीका अनुसार जति काम भएको छ, त्यतिको मात्र पैसा दिइएको हो। बाँकी काम गर्न असोज मसान्तसम्म म्याद थपी पैसा दिइएको बताइन्। तर, नगरपालिका स्रोतका अनुसार ३० हजार रुपैयाँ मात्र ठेकेदारले लान बाँकी छ। कल्भर्ट निर्माण सम्पन्न गर्न अझै ३ लाख बढी रकम आवश्यक पर्ने स्थानीय बासिन्दाको भनाई छ।

उता  सोही वडाको हिले डाँगीमा निर्माण भएको अर्को कल्भर्ट निर्माण सम्पन्न नहुँदै भत्किएको छ। मध्यवर्खामा छिटो छिटो काम गर्दै बजेट सक्ने परिपाटीले उर्लाबारीका अधिकांश योजना सम्पन्न हुन नसकेको उप प्रमुख भण्डारीले बताइन्। उनले भनिन्, 'धेरै जसो योजनाको म्याद असोज मसान्त सम्म थपिएको छ। अनुगमन गरेर भएको कामको मात्र पैसा दिएका छौं।'

गत आर्थिक वर्षमा नगरको गौरवको आयोजना भनेर घोषणा गरिएका दुई वटै आयोजनाको काम सुरुसम्म हुन सकेन। नगरमा जताततै नीतिगत भ्रष्टाचार छ। अनि मेयर भन्छन्–म भ्रष्टाचार गर्दिन र गर्न पनि दिने छैन ?  काम नै सम्पन्न नगरी अग्रिम पैसा भुक्तान दिनु भ्रष्टाचार हो कि होइन मेयर साव ?

प्रकाशित मिति: : 2021-07-16 12:37:00

प्रतिकृया दिनुहोस्