राष्ट्रपतिसमक्ष गरिँदैआएको महान्यायाधिवक्ताको सपथ यस कारण भयो सर्वोच्च अदालतमै

नवनियुक्त महान्यायाधिवक्ता खम्मबहादुर खातीको शपथग्रहण सर्वोच्च अदालतमै भएको छ। यसअघिका महान्यायाधिवक्ताहरुको सपथग्रहण राष्ट्रपतिको समुपस्थितिमा प्रधानन्यायाधीशले गराउँदैआएको भए पनि खातीको सपथ सर्वोच्च अदालतमै गराउन लागिएको हो।

कोरोना महामारीपछि राष्ट्रपतिसँगै सपथ खानुपर्नेबाहेक अरु पदमा यसअघि पनि प्रधानन्यायाधीश चोलेन्द्रशमशेरले सर्वोच्च अदालतमै सपथ खुवाएका छन्। सर्वोच्च अदालतका न्यायाधीशद्वय कुमार चुडाल र नहकुल सुवेदीको सपथ पनि सर्वोच्च अदालतमै गराएका थिए।

राष्ट्रपति कार्यालयको उच्च स्रोतले दिएको जानकारीअनुसार, कोरोना महामारीपछि राष्ट्रपति स्वयंबाट सपथ खानुपर्ने पदबाहेक राष्ट्रपतिको उपस्थितिमा प्रधानन्यायाधीश र अरु संवैधानिक अंगका पदाधिकारीसँग सपथ खानुपर्ने पदमा भने सम्बन्धित पदाधिकारीकै पदमा सपथग्रहण गर्न यसअघि नै 'सर्कुलर' जारी गरेको थियो। सोहीबमोजिम न्यायाधीशद्वय चुडाल र सुवेदीको सपथ सर्वोच्च अदालतमै गरिएको थियो।

यसअघिका महान्यायाधिवक्ता रमेश बडालले राष्ट्रपति कार्यालयमै सपथग्रहण गर्ने बताएपछि मन्त्रिपरिषद्ले निर्णय गरी पठाएकाले राष्ट्रपति कार्यालमै सपथ गराइएको थियो।

'प्रधानमन्त्रीले मन्त्रिपरिषद् बैठकबाट निर्णय गरी राष्ट्रपति कार्यालयमा पठाउनुभएको भए राष्ट्रपति कार्यालयमै सपथ हुन्थ्यो, त्यसो नगरी पठाएकाले पहिले सर्वोच्च अदालतका न्यायाधीशको जस्तै सर्वोच्च अदालतमै गरिएको हो', ती अधिकारीले बताए, 'यसमा कुनै राजनीति देख्नु जरुरी छैन।'

प्रकाशित मिति: : 2021-07-16 15:04:00

प्रतिकृया दिनुहोस्