प्रदेश २ सरकारमा माओवादी केन्द सहभागी, दुई सांसदले लिए मन्त्री पदको सपथ

विजय साह

जनकपुर

प्रदेश २ सरकारमा सहभागी भएका नेकपा माओवादी केन्द्रका दुई जना सांसदले मन्त्री पदको सपथ लिएका छन्।

जनता समाजवादी पार्टीका उपेन्द्र यादव पक्षका मन्त्री ज्ञानेन्द्र यादव र राज्यमन्त्री सरोज सिंह कुशवाहाले पार्टीको निर्देशनानुसार राजीनामा दिएपछि मुख्यमन्त्री लालबाबु राउतले प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका दुईजना सांसदलाई मन्त्री बनाएका हुन्।

मन्त्री बनेका नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता भरत प्रसाद साहले प्रदेश प्रमुख डा. राजेश अहिराजबाट शनिबार पद तथा गोपनीयताको सपथ लिएका छन् भने राज्यमन्त्री रुवी कुमारी कर्णले मुख्यमन्त्री लालबाबु राउतसँग सपथ लिएकी छन्।

साहलाई आन्तरिक मामिला तथा सञ्चारमन्त्रीको जिम्मेवारी दिइएको छ भने कर्णलाई आन्तरिक मामिला तथा सञ्चार राज्यमन्त्रीको जिम्मेवारी दिइएको हो।

यसअघि माओवादीका दुईजनालाई मन्त्री बनाउने तयारी भएपनि मुख्यमन्त्री लालबाबु राउतले अन्तिममा एउटा मात्रै मन्त्रालय दिने अडान लिएपछि कांग्रेस मात्रै सत्तामा गएको थियो।

राउतले आफ्नै पार्टी भित्रको महन्थ ठाकुर पक्षका एक मन्त्री र तीन राज्यमन्त्रीलाई पदबाट हटाएर गत जेठ २६ गते नेपाली काँग्रेसलाई समेत सरकारमा सहभागी गराइसकेका छन्।

प्रकाशित मिति: : 2021-07-17 18:04:00

प्रतिकृया दिनुहोस्